काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीमा अक्सिजनको अभाव हुन नदिन नागरिक स्तरबाट १० वटा अत्याधुनिक अक्सिजन जेनेरेटर(प्लान्ट) राखिने भएको छ । कोभिड महामारीको सम्बोधनका लागि बृहत् नागरिक समाजको नेतृत्वमा गरिएको यो एक सबैभन्दा ठूलो पहल हो ।
नागरिक समाज र निजी क्षेत्रको प्रतिष्ठित संघ–संस्थाको सहकार्यमा सातवटै प्रदेशका अस्पतालहरूमा सो अक्सिजन प्लान्ट राख्न लागिएको बताइएको छ । अक्सिजन संकटलाई मध्यनजर गरी बृहत् नागरिक समाजको पहलमा फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर युनिट नेपालमा झिकाइ सकिएको जनाएको छ ।
जुन अबको केही साताभित्रै नेपालमा आइपुग्ने छ । फ्रान्सबाट अक्सिजन प्लान्ट ल्याउनका लागि सबै प्रक्रिया पूरा भइसकेको जनाएको छ । अमेरिकी नेपाल मेडिकल फाउन्डेसन, बतास फाउन्डेसन, क्रिएसन, ह्युमानिटी फाउन्डेसन नेपाल, मिसन रिबिल्ड नेपाल, जगदम्बा स्टिल र स्याकार ट्रेडिङ कम्पनी प्रालिको संयुक्त सहकार्यमा र अन्य थुप्रै संघ–संस्थाहरूको सहयोगमा अक्सिजन संकटको चुनौतीलाई सामना गरी नेपालको क्षमतालाई बलियो बनाउनका लागि यो कार्यको सुरुवात गरिएको उल्लेख छ ।
१२ करोड रुपैयाँ संकलन गरेर ल्याउन लागिएको दस वटा अक्सिजन प्लान्टले २४ घण्टामा १६ वटा ४७ लिटरको सिलिन्डर भर्ने र ५० वटा बेडमा सेवा दिन सक्छ । १० वटा अक्सिजन जेनेरेटरले एक मिनेटमा ३७५ लिटर अक्सिजन उत्पादन गर्छ । त्यसैले १० वटा अक्सिजन जेनेरेटर युनिट स्थापना गरेमा एकदिमा ६५० संक्रमितहरूलाई सेवा प्रदान गरी जीवनरक्षा गर्ने तथ्यांक देखिन्छ ।
नोभिएरको कोईएन प्रिमिएम आरएक्ष २७० अक्सिजन जेनेरेटर, नेपालको सातवटै प्रदेशमा स्थापना गरिनेछ । जेनेरेटर सञ्चालनका लागि जुन स्थानबाट सबैभन्दा छिटो गर्न सकिन्छ त्यहाँबाट अक्सिजन उत्पादन प्रणालीको सुरुवात गरिनेछ । बतास फाउन्डेसनका आनन्द बतासले अहिलेसम्म पोखरा, धनगढी र दार्चुलामा अक्सिजन प्लान्ट राखिने टुंगो लागे पनि अन्य स्थानहरुको टुंगो लगाउने प्रक्रिया चलिरहेको बताए ।
अक्सिजन जेनेरेटर एकपटक हस्तान्तरण भएपश्चात् तोकेको स्थानसम्म लागिसकेपछि जडानका लागि तीन दिन लाग्नेछ । अक्सिजन जेनेरेटर युनिटहरू नेपालमा आइपुग्ने क्रममा छ । यी अक्सिजन प्लान्टहरूले कोभिड–१९ को दोस्रो लहरको संकटमा तत्काल राहत प्रदान गर्नुका साथै नेपालको समग्र स्वास्थ्य प्रणालीमा सहयोग पुर्याउनेछ ।
अक्सिजन जेनेरेटर ढुवानीका लागि भने सरकारलाई अनुरोध गरिएको छ । कोभिड संकट व्यवस्थापन(सीसीएमसी) का सदस्य सचिव बालानन्द शर्माले जेनेरेटर ढुवानीका लागि आवश्यक पर्ने रकम जोहो गर्नका लागि सीसीएमसीले तत्कालै मन्त्रिपरिषदको बैंठकमा प्रस्ताव पठाउने जानकारी दिए । फ्रान्सबाट सो जेनेरेटरहरू ल्याउनका लागि ४ करोड रुपैयाँ भाडा लाग्नेछ ।
अक्सिजन फर नेपाल, कोभिड–१९ को दोस्रो लहरको संकटलाई सम्बोधन गर्ने सबैभन्दा ठूलो नागरिक समाज अभियान हो, जहाँ नेपाल र विदेशमा रहेका संघ–संस्था र नागरिकहरू एउटै छातामुनि भेला भएका छन् । यस अभियानका साझेदारहरूले तत्कालीन अक्सिजन संकटलाई समाधान गर्न नेपालको सातवटै प्रदेशमा १० वटा अक्सिजन अक्सिजन जेनेरेटर युनिटहरू स्थापना गर्नेछन् ।
स्याकार ट्रेड कम्पनी अध्यक्ष सौरभ ज्योति भन्छन्, ‘ज्योति ग्रुपअन्तर्गत स्याकार ट्रेडिङ गर्व गर्छ कि हामी एस अक्सिजन फोर नेपालमा अरू एनजीओ र निजी कम्पनीसँग संलग्न भएर महामारीका बेलामा नेपाली जनतालाई राहत दिनका लागि १० वटा अक्सिजन प्लान्ट दिने भएका छौं । एस स्याकार ट्रेडिङ कम्पनीको सिद्धान्तमा बसेर हामी हाम्रो समुदाय, समाज र राष्ट्रका लागि परिआएको बेला सधैं सहयोग गर्न प्रतिबद्ध छौं ।’
यस अभियानमाथि प्रकाश पार्दै, क्रिएसनका संस्थापक तथा अध्यक्ष, आनन्द मिश्रले भन्छन्, सानो–सानो हातेमालोबाट सुरु भएको यो अभियानले आँटे जत्रो व्यापक चुनौती पनि सामना गर्न सकिन्छ भन्ने महत्वपूर्ण पाठ दिएको छ । सरकारी निकायको मुख ताकेर किंकर्तव्यविमुढ बस्नुभन्दा निजी साझेदारीमा ठोस परिवर्तनवाहक बन्न हामी हरेक सक्षम रहेछौं ।
सबैको ऐक्यवद्धताले नै यो अभियान सफल भएकाले म सबै संस्था तथा व्यक्तिहरू, विशेष गरेर कोभिड अलायन्स फर नेपाल र सी–१९ आर एटीलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’