काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि आक्रमण भएको बताएका छन्। नेपालको संविधान २०७२ अवसरमा विज्ञप्ति जारी गर्दै बिहीबारदेखि सैनिक सुरक्षाबाट बाहिरिएका एमाले अधयक्षसमेत रहेका ओलीले नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैंले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिनलाई स्मरण गर्दै यस्तो बताएका हुन्।
उनले लोकतान्त्रिक गणतन्त्र, संघीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिनमा सबै नेपालीप्रति शुभकामना व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ। नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो। तसर्थ नेपालको संविधान नेपाली जनताले आफैले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो।’
संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्ने गरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचना बनाइरहेको उनले बताए। उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरिएको, सार्वभौमसत्ताको सामथ्र्य विस्तार गरेको, विकास संरचनाका जग बसालेको ओलीले बताएका छन्।
गत साता जेनजीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भएको ओलीको दाबी छ। आन्दोलनकारीको उग्र हिंसापछि राजीनामा दिन बाध्य भएका ओलीले भनेका छन्, ‘त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीले हिंसा मच्चाए। हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ। त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाप्रति श्रद्धाञ्जली एवं घाइतेको स्वास्थ्यलाभको कामना गर्दछु।’
अध्यक्ष ओलीले यतिबेला संविधानमाथि ठूलो आक्रमण भएको बताएका छन्। उनले भनेका छन्, ‘प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ। नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ। यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ। हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ। विदेश जाने÷आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्नेछ।’
उनले देशको सिमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रहेको इतिहास युवाहरुलाई सम्झाएका छन्।
‘यथार्थभन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणाम पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन्झन् गाढा सम्झना गराउनेछ। हामी सबै पुस्ताका नेपाली एकजुट हुनुपर्दछ– सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न। सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ,’ उनले भनेका छन्।