काठमाडौं। जेनजी आन्दोलनपछि देशैभरका अटो शोरुम सुनसान छन्। दसैं अगाडि मोटरसाइकलदेखि कारसम्म नयाँ बुकिङले भरिने समय भए पनि आन्दोलनका क्रममा निजी क्षेत्रका भौतिक संरचनामाथि आगलागी तथा तोडफोड गरिएपछि अटो व्यवसायमा समेत प्रत्यक्ष असर परेको छ।
गत वर्ष बाढीपहिरोले अटो व्यापारमा असर गरेकामा यो वर्ष आन्दोलनका कारण गाडी बुकिङसमेत किङ समेत धमाधम रद्द गर्न थालेका छन्। भ्रष्टाचार अन्त्यसहित विभिन्न माग राख्दै भदौ तेस्रो साता जेनजी आन्दोलनको क्रममा ७३ जनाको ज्यान गएको छ भने सयौंको संख्यामा घाइते र सरकारी एवं निजी गरी खर्बौ रुपैयाँको क्षति भएपछि धेरैको ‘फेस्टिबल मुड’ खराब भएको छ।
दसैंकै मुखमा भएको विध्वंसपछि नयाँ सवारीसाधन खरिद गर्ने पनि पर्ख र हेरको अवस्थामा पुगेका छन्। खासगरी निजी एवं सरकारी सवारीसाधनमा भएको तोडफोड र आगजनीपछि असुरक्षाका कारण यसअघि बुक गरिएका सवारीसाधन तत्कालका लागि खरिद गर्न नसक्ने जवाफ ग्राहकले दिन थालेको एक अटो व्यवसायीको गुनासो छ।
गत वर्षपनि दसैंकै मुखमा आएको बाढीको कारण धनजनको क्षति भएको थियो। काठमाडौं उपत्यकाका विभिन्न भागमा डुबान समेत परेको थियो। जसको कारण गत वर्षपनि अटो व्यवसायीहरुको दसैं खल्लो भएको थियो। यो वर्ष साउन र भदौकाको नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोले व्यवसायीमा थपेको रौनकले जेनजी आन्दोलनले रोकिदिएको छ।
अर्थात् यो वर्षको दसैंमा पनि विगतको तुलनामा उत्साहजनक व्यापार नहुने निश्चित भएको अटो व्यवसायीहरुले बताउन थालेका छन्।
उसाे त, दुई महिनादेखि तातोपानी र रसुवा नाका बन्द हुँदा सवारीसाधन आयात गर्न कठिन परिरहेको बेला जेन्जी प्रदर्शनले अटो उद्योगमा ठुलो असर परेको पारामाउन्ट मोटर्सका जनरल मेनेजर सुनीलबहादुर क्षेत्री बताउँछन्।
‘गत वर्ष पनि दसैंको मुखमा नै बाढी आएको कारण नाका बन्द हुँदा अटो उद्योगमा ठूलो असर पुगेको थियो,’ उनले भने, ‘यस वर्ष पनि दुई महिनादेखि भन्सार नाका बन्द र जेनजी प्रदर्शनले ठूलो असर गरेको छ।’ जेनजी आन्दोलनका कारण सवारी खरिदका लागि ग्राहकहरुको मुड बिग्रिएको उनको भनाइ छ।
‘सवारीसाधन त योजना बनाएर खरिद गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अब देशको अवस्था के हुने हो अहिले गाडी किन्दा किस्ता कसरी तिर्ने भन्ने कुराले ग्राहक दोधारमा परेका छन्।’ जेनजी आन्दोलनका कारण गाडी खरिद गर्न चाहने ग्राहकहरु अन्योलमा परेको क्षेत्री बताउँछन्।
उनकाअनुसार दसैंमा अटो बजारमा जुन चहलपहल हुनु पर्ने थियो त्यो छैन। पुरानो बुकिङ गरेका ग्राहकरु पनि अब गाडी खरिद गर्ने कि नगर्ने भन्ने दोधारमा परेका छन्।
सिजनमै अटो बजारमा समस्या
सवारीसाधन खरिद बिक्री गर्ने मुख्य सिजन यही नै हो। दसैंको मुखमा प्रायः सबैले सवारीसाधन खरिद गर्ने योजना बनाएका हुन्छन्। अटो व्यवसायीहरु यो समयलाई ‘पिक सिजन’ को रुपमा हेर्ने गर्छन्।
व्यवसायीले चाडपर्वलाई लक्षित गरी विभिन्न खालका अफरहरु ल्याउने भएकाले ग्राहकले नयाँ सवारीसाधन किन्नको लागि योजना बनाउने, बुकिङ गर्ने र विभिन्न अफरहरूमा आकर्षित हुने गर्छन्। यस वर्ष सवारीसाधन खरिद गर्ने योजना बनाएर बुकिङ गरेका ग्राहकले आन्दोनपछि अहिले धमाधम बुकिङ फिर्ता गरिरहेका छन्। त्यसकारण व्यवसायीहरु चिन्तामा देखिएका हुन्।
दसैं, तिहारजस्ता चाडपर्वलाई अटो व्यवसायको मुख्य सिजन मानिन्छ। व्यवसायीले वर्षभरीको झन्डै आधार व्यापार यही बेला गर्छन्। तर, गत वर्ष र यस वर्ष अवस्था निकै फरक देखिएको छ। मुख्य सिजनमै अटो बजार समस्याग्रस्त बनेको छ।
नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा साढे सात हजार सवारीसाधन बुकिङ भएको थियो। दुई अटो शोमा लिइएका अधिकांश बुकिङ दसैंका बेला डेलिभरी गर्ने योजना बनाएका अटो व्यवसायी ग्राहकले बुकिङ फिर्ता गर्न थालेपछि चिन्तामा देखिएका छन्।
गत वर्ष बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा गाडी आयात ठप्प भएको थियो। त्यसबेला अटो व्यवसायीहरू सिजन गुमाउँदा करोडौंको नोक्सान व्यहोर्न बाध्य भएका थिए।
दसैंलाई लक्षित गर्दै बुकिङ गरेका ग्राहकले अहिले धमाधम बुकिङ फिर्ता गरिरहेकाे एक व्यवसायी बताउँछन्। ‘ग्राहकहरूले अहिले देशको राजनीतिक र आर्थिक अवस्था स्थिर नभएको र आन्दोलनले अनिश्चितता बढाएको भन्दै बुकिङ फिर्ता गर्न थालेका छन्,’ ती व्यवसायीले भने, ‘यस्तो अवस्थामा लगानी गर्नु जोखिमपूर्ण ठानेर उनीहरू पछि हटेका हुन्।’