काठमाडौं । काठमाडौं उपत्यकामा विगत एक महिनादेखि जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन हुने भएको छ। निषेधाज्ञाको मोडालिटी परिवर्तन अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेठ २१ गतेदेखि १० बजेसम्म किराना र पुस्तक पसल खाेल्न दिने भएकाे छ ।
काठमाडौं उपत्यकामा विगत एक महिनादेखि जारी निषेधाज्ञाको जिल्ला प्रशासन कार्यालयले काठमाडौंले मंगलबार मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो। जिल्ला प्रशाननले अब डिपार्टमेन्ट स्टोर, किराना पसल, खाद्यान्न, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म खुल्न दिने भएको छ।
अब प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोडालिटी तयार गरेको हो।
स्वास्थ्य मापदण्ड पूरा गरेर वर्कशप पनि बिहान १० बजेसम्म सञ्चालन गर्न पाइनेछ । उद्योगले कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न सक्नेछन् । आवासीय प्रबन्ध मिलाएमा सञ्चालनका लागि प्रशासनले सहजीकरण गर्ने भएको हो । जिल्ला प्रशासनले केही मोडालिटी परिवर्तन गरिए पनि वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिने भएको छ।
उपत्यकामा यसअघि थपिएको एक साता लामो निषेधाज्ञा जेठ २० गते सकिँदैछ। साे निषेधाज्ञामा खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय गरिएको थियो। केही समय यता काठमाडौं उपत्यकामा कोरोना संक्रमण र मृत्यु दरमा केही कमी आएको छ। विज्ञहरुले कोरोना संक्रमण दर घटेपनि जोखिम भने यथावत रहेको बताएका छन्।
हाल संक्रमित हुनेभन्दा निको हुनेको दर बढेको छ। सोमबार मुलुकभर ६ हजार ४ सय ९१ जना निको हुँदा ४ हजार १ सय ७८ जना संक्रमित थपिएका थिए भने १ सय १४ जनाको मृत्यु भएको थियो।