काठमाडौं । दया फाउन्डेसनले विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । दया फाउन्डेसनले कोरोनाको उपचारमा देखिएका चुनौती तथा समस्यामा सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
फाउन्डेसनले हालसम्म ६ थान हाई फ्लो नेसलक्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थान थर्मल गन, १५ थान अक्सिमिटर साथै १ हजार थान सुरक्षा किट (पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पञ्जा) प्रदान गरेको छ ।
सो सहयोग सामग्री टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेण्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेसन सेन्टरमा वितरण गरिएको छ ।
फाउन्डेसनले क्रिटिकल केयर नर्सिङ संघ नेपाल र नेपाल क्रिटिकल केयर विकास फाउन्डेसनसँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङसम्बन्धी भर्चुअल प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । साथै कोरोना उपचारका क्रममाआवश्यकविशेष सीप नर्सहरूलाई उपलब्ध गराउने उद्देश्यले गत ९ गतेदेखि २१ गतेसम्म प्रशिक्षण दिइरहेको छ ।
संस्थाले विशेषतः निम्न आय भएकाहरुको उपचारको लागि लक्षित गरी सहयोग गरेकाले विपन्नवर्गकोे उपचारमा टेवा पुग्ने फाउन्डेसनका अध्यक्ष राजेश प्रधानले विश्वास लिएका छन् । साथै निजी क्षेत्रले पनि विषम परिस्थितिमा समाज सेवामा अग्रसर हुनुपर्ने उनले बताए ।
कोभिडसम्बन्धी कार्यक्रमहरुको समन्वय तथा संयोजन गर्दै आएका संस्थाका पूर्व अध्यक्ष किपामाथेमाका अनुसार फाउन्डेसनले स्वास्थ्य उपकरणहरु उपलब्ध गराउने मात्र नभई संक्रमितको उपचारमा संलग्न रहेका जनशक्तिको क्षमता अभिवृद्धिका लागि पनि विभिन्न तालिम आयोजना गर्छ ।
दया फाउन्डेसन समाजसेवी स्व.दयारामभक्त माथेमाको स्मृतिमा परिवारले पारिवारिक ट्रस्टका रूपमा समाजसेवाका लागि सन् २००९ मा स्थापना गरेको संस्था हो । जसको मूलभूत उद्देश्यमाशिक्षा, स्वास्थ्य र संस्कृति पर्छ ।
कोरोना महामारीको पहिलो लहरमा उल्लेख्य स्वास्थ्य सेवा उपलब्ध गराएबापत टेकु अस्पताल, वीर अस्पताल, कान्तिबाल अस्पताल तथा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको कोभिड नर्सिङ युनिटलाई दया फाउन्डेसनले ‘एक्सलेन्स अवार्ड’बाट सम्मानित गरेको थियो ।