काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हालको मूल्यमा ती सबैमा २ रुपैयाँ वृद्धि गरिएको हाे । अब पेट्रोल १ सय २५, डिजल तथा मट्टीतेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम भएको छ। यद्यपि, एलपी ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन।
पहिले पेट्रोल १ सय २३,डिजल तथा मट्टीतेलको १ सय ६ र हवाई इन्धन आन्तरिकतर्फ ७८ रूपैयाँ थियो। निगमले पहिले कायम गरिएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई १५ दिनमा १ अर्ब १० करोड घाटा रहेको जनाएको छ।
निषेधाज्ञाको समयको १५ दिनको हिसाब गर्दा पनि ७१ करोड घाटा हुने देखिएको बताएको छ। अन्य साधारण दिनमा ९३ करोड घाटा रहेको जनाएको छ।
यो मूल्य समायोजनपछि पनि निगममलाई पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ ३२ पैसा, डिजलमा ३ रूपैयाँ १७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय ५८ रूपैयाँ ४६ पैसा घाटा हुने निगमको दाबी छ।
‘निरन्तर बढिरहेको कच्चा तेलको मूल्य एवम् अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाँको अवमूल्यन हुने क्रम जारी रहने हो भने निगमले आगामी दिनमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने बाध्यता आउन सक्ने देखिन्छ,’ उपाध्यायद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
