पोखरा । कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाले समस्यामा परेका व्यक्तिहरुको गर्जो टार्ने लायन्स क्लब अफ पोखरा अभियानद्वारा सुरु गरिएको ‘हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं’ अभियानको सातौं दिनसम्म ११ सय बढीले सेवा लिएका छन् ।
पोखराको बीपी चोकस्थित चिप्लेढुङ्गामा सञ्चालन भइरहेको खाद्य बैंकमा चामल, दाल, तेल, नुन, चनालगायत सामग्री छन् । अहिलेको विषम परिस्थितिले खाद्य समस्यामा परेका व्यक्ति, अलपत्र बटुवा लगायतकालाई लक्षित गरी अभियान सुरु गरिएको पोखरा अभियानका संस्थापक अध्यक्ष विनोद ढुगांनाले जानकारी दिए ।
“हामीले जेठ १६ गतेदेखि अभियानमा सुरु गरेका हौं, शनिबार सेवा बन्द रहन्छ, अहिलेसम्म ११ सय १५ जनाले सेवा लिनुभएको छ ।” उनका अनुसार क्लबले राहत कोषमार्फत संकलित रकमबाट सुुरुमा २० हजारबाट सो अभियान सुरु गरेको हो ।

अहिले लायन्स क्लबका सदस्य एवं गैरसदस्यहरुले स्वतस्फूर्त सहयोग गर्दै आएका छन् । हालसम्म करिब ४ लाख बढीको राहत सामग्री वितरण भइसकेको उनले जानकारी दिए । बिहान ६ बजेबाट ९ बजेसम्म सञ्चालन गरिएको सो अभियानमा दैनिका १३० देखि माथि १६५ सम्म खाद्या सामग्री लिन आउने गरेको अभियान कार्यक्रमका संयोजक मातृका पोखरेल जानकारी दिए ।
‘हामीले नाम टिपाउँछाैं, सकेसम्म दिन दिनका लागि भनेर सामान लैजान भन्छौं, उहाँहरुले आफ्नो परिवारको सदस्य संख्या र आवश्यक खाद्य सामग्री लिएर जाने गर्नुहुन्छ ।’ त्यसरी आउने केही व्यक्ति दैनिक दोहोरिने गरेको उहाँको भनाइ छ । पोखरेलका अनुसार यो अभियानलाई निरन्तर रूपमा निषेधाज्ञा जारी रहेसम्म सुचारु गरिनेछ ।