काठमाडौं । नेपाल धितोपत्र बोर्डमा जलविद्युत कम्पनीका मात्र साधारण सेयर (आईपीओ) निष्कासनका लागि आवेदन परेका छन् । ८ ओटा जलविद्युत कम्पनीले २ अर्ब ५ करोड ९८ लाख ५० हजार ६०० रुपैयाँ बराबरको २ करोड ५ लाख ९८ हजार ५०५ कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन ।
बोर्डले आईपीओ निष्कासनका लागि नियामक विद्युत नियमन आयोगको स्वीकृति लिन भनेपछि कम्पनीहरुले आवेदन दिन थालेका हुन । पछिल्लो समयमा सेयर बजारमा लगातार गिरावट आउन थालेपछि जलविद्युत कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिनेमा ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, युनाइटेड इदीमार्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेड रहेका छन् ।
यस्तै शुभम पावर लिमिटेड मैलुङखोला जलविद्युत कम्पनी लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड र शिवश्री हाइड्रोपावर लिमिटेड रहेका छन् । एक दर्जन कम्पनीले आईपीओ निष्कासनका लागि नियमन आयोगमा निवेदन दिएका छन ।
जलविद्युत बाहेक सीआईबीएल क्यापिटल लिमिटेड, इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्न आवेदन दिएको बोर्डले जनाएको छ । गत असार १३ गतेपछि बोर्डले आईपीओ निष्कासनका लागि अनुमति दिएको छैन ।
बिमा समितिले सञ्चालन अनुमति दिएका १३ ओटा बिमा कम्पनीको आईपीओ आउने भएका छन् । सञ्चालनमा आएको २ वर्षपछि मात्र आईपीओ निष्कासन गर्न पाउने भएपछि कम्पनीहरुले अहिले साधारणसभाबाट सर्वसाधारणलाई सेयर जारी गर्ने प्रस्तावलाई पारित गराउन थालेका छन् ।
सूची हेर्न यहाँ क्लिक गर्नुहोस