विराटनगर । खुला सिमानाबाट भएको चोरी पैठारीले व्यवसायीलाई समस्या पारेको व्यवसायीहरुले बताएका छन् । सिमानामा कडाइ नहुँदा खाद्यान्नका सबै सामानदेखि पूजाका आवश्यक सामग्री, मदिराजन्य पदार्थहरुको चोरी पैठारी बढेकाले स्वदेशी उत्पादनलाई असर पर्नुका साथै अर्थतन्त्रमा पनि समस्या पारेको उनीहरुको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा भर्खरै सरुवा भएर आएका प्रहरी प्रमुख तथा एसपीलाई स्वागत गर्न तथा चोरी पैठारीको बारेमा जानकारी गराउन बुधबार विराट व्यापार संघ मोरङले गरेको स्वागत सम्मान कार्यक्रममा बोल्ने व्यवसायीहरुले हाट बजारको नाममा र बजारको गल्ली–गल्लीमा चोरी पैठारीका सामान धेरै भएकाले स्वदेशी उत्पादनलाई असर परेको बताएका हुन् ।
व्यवसायिहरुले चोरी पैठारीले गर्दा राजस्वमा पनि असर परेकाले कडाइका साथ लागू गर्न एसपीलाई आग्रह गरेका छन् । आफूले पाएको सुविधालाई ख्याल नगर अपाङ्गता भएका व्यक्तिहरुले रेडबुल लगायतका सामान ल्याइरहेकाले राजस्वमा ठूलो असर परेको उनीहरुको भनाइ छ ।
विराट व्यापार संघका अध्यक्ष सुजन थापाले लकडाउनले असर पारेको व्यवसायलाई चोरी पैठारीले झन ठूलो असर पारेको बताए । ‘खुला सिमाना छ, चोरी पैठारी बढ्दो क्रममा छ’, उनले भने, ‘यसले अर्थतन्त्रमा ठूलो असर पार्नुका साथै स्वदेशी उत्पादनलाई असर पारेको छ ।’
एसपी जनार्दन जिसीले व्यवसायीको सहयोगमा चोरी पैठारीलाई नियन्त्रणलाई ध्यान दिने बताए । ‘चोरी पैठारी गर्नेलाई सहयोग गरेको भनेर प्रहरी धेरै आरोप लाग्ने ठाउँ यही हो’, उनले भने ‘प्रहरीको एक्लो प्रयासले सकिँदैन, यसमा व्यवसायिको पनि साथ चाहिन्छ ।’ सबैको साथ र सहयोगमा चोरी पैठारीलाई कम गर्ने प्रयास प्रहरीले गर्ने जिसीले बताए ।