काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित कार्य समितिको पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न भएको छ। डा. हेमराज शर्माको अध्यक्षतामा चैत ५ देखि ७ (मार्च १८/२०, २०२६) सम्म भौतिक उपस्थिति र जुम माध्यमबाट बैठक सञ्चालन गरिएको हो।
बैठकमा नवनिर्वाचित कार्यसमितिले आफ्नो कार्यकालका प्राथमिकता, आगामी योजना तथा संस्थागत विषयहरूमा विस्तृत छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ।
बैठकले विशेषगरी नेपालमा गैरआवासीय नेपालीहरूको लगानी विस्तारमा जोड दिएको छ। नेपाल सरकार र गैरआवासीय नेपालीहरूको संयुक्त लगानीमा स्थापना गरिएको १० अर्ब रुपैयाँ पूँजीको ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ तत्काल सञ्चालनमा ल्याउन आवश्यक नीतिगत तथा नियमिक व्यवस्था गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको छ।
यसैगरी, उक्त फण्डमार्फत वैदेशिक नेपालीहरूको पूँजी नेपालमा परिचालन गर्न विश्वका विभिन्न क्षेत्रमा रोड शो कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ। अमेरिकाज, एसिया, ओसेनिया, मध्यपूर्वरमलेसिया, अफ्रिका र युरोप गरी ६ क्षेत्रलाई लक्षित गर्दै क्रमिक रूपमा लगानी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने संघले जनाएको छ।
संघले यी कार्यक्रममार्फत नेपालमा लगानी आकर्षित गर्दै आर्थिक विकासमा गैरआवासीय नेपालीहरूको भूमिका अझ सशक्त बनाउने लक्ष्य राखेको छ।