काठमाडौं। पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित राजधानीमा आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पोमा दर्शकको आकर्षण बढ्दो देखिएको छ। भृकुटीमण्डपमा जारी उक्त मेलामा दैनिक रूपमा दर्शक सङ्ख्या र कारोबार दुवैमा वृद्धि हुँदै गएको आयोजकले जनाएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको मेला चैत ८ गतेसम्म जारी रहने छ।
चैत ५ गते देखि सुरु भएको मेलाको पहिलो दिन ९ हजार ५०० जनाले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का कोषाध्यक्ष राजकृष्ण बजगाईंले जानकारी दिए।
उनका अनुसार दोस्रो दिन शुक्रबार १७ हजार ५०० दर्शकले मेला अवलोकन गरेका छन् भने २९ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी तेस्रो दिन शनिबार ९आज० २१ हजार ५०० दर्शकले अवलोकन गरेका छन् भने ३९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको उनले बताए।
यससँगै पहिलो दुई दिनमै २७ हजार दर्शकले मेला अवलोकन गरेका थिए भने कारोबार ५१ लाख रुपैयाँभन्दा बढी पुगेको थियो। तेस्रो दिनपछि दर्शक सङ्ख्या र कारोबार दुवैमा थप वृद्धि भएको देखिएको छ।
एक्स्पोमा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक २, फुड २, ल्याण्डस्केप १, सेल्फी १ तथा बीवाईडी ईभी कारसहित १ गरी कुल ८३ वटा स्टल रहेका छन्। मेलामा सहभागी पुष्प व्यवसायीहरूले उत्पादन गरेका फूल तथा बिरुवाहरूलाई विभिन्न विधामा प्रतिस्पर्धा गराइने मेलाका संयोजक रामबहादुर तामाङ (सुनिल)ले बताए।
यस वर्षको एक्स्पोमा करिब ६० हजार दर्शकले अवलोकन गर्ने र एक करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संयोजक तामाङले जानकारी दिए।