विराटनगर । आर्थिक वर्ष २०७७/७८ मा विराटनगर भन्सारबाट १ खर्ब ९ अर्ब रुपैयाँ बराबरको सामान आयत हुँदा ३६ अर्ब ९० करोड रुपैयाँ बराबरको सामान मात्र निर्यात भएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब ३२ करोड रुपैयाँ बराबरको सामान आयत हुँदा २८ अर्ब रुपैयाँ बराबरको सामान मात्र विराटनगर भन्सारबाट निर्यात भएको थियो ।
अघिल्लो आर्थिक वर्षमा १९.४६ प्रतिशत नेपाली उत्पादनहरू भारत निर्यात गरिएको तथा ८०.५४ प्रतिशत विदेशी उत्पादनहरू नेपाल आयात गरिएको विराटनगर भन्सार कार्यालयको तथ्याङ्क छ ।निर्यातको तुलनामा झण्डै ५ गुणा बढी मूल्य बराबरको विदेशी उत्पादन नेपाल आएको छ ।
नेपालमा निर्यात गर्ने खालका वस्तुहरूको उत्पादन एकदमै कम भएको र कच्चा पदार्थ उतैबाट ल्याएर यहाँबाट प्रशोधन गरेर पठाउने तेलहरूको कारण फिगर केही राम्रो देखिएको भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताए ।
‘यो पनि नहुँदो हो त हाम्रो निर्यात एकदमै न्यून देखिन्थ्यो’, उनले भने, ‘हाम्रो उत्पादन एकदमै घट्दो अवस्थामा छ ।’विदेशी बजारमा नेपाली उत्पादन दरिलो प्रतिस्पर्धीका रूपमा प्रस्तुत हुन नसक्दा यस करिडोरका उद्योग व्यावसाय संकटमा पर्दै गएका हुन् ।
मुलुकले आयातको अनुपातमा निर्यात गर्न नसक्दा व्यापार घाटा बढ्नुका साथै मुलुकको अर्थतन्त्रको मेरुदण्ड प्रभावित बन्दै गएको उद्योगपतिहरूले बताएका छन् ।
भटमास तथा सूर्यमुखीको तेल, मकै, एलपी ग्यास, सीआरसिट, पोलिथिन दाना, स्टिल वायर रड र तयारी कपडा लगायतका क्षेत्रमा मुलुक अझै पनि परनिर्भर रहेकाले व्यापार घाटाको भार थेग्न नसकेर कतिपय उद्योगहरू बन्द हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।
स्वदेशी वस्तुको खपत बढाउन सरकारद्वारा सहज वातावरण निर्माणको अभावमा निर्यात प्रवद्र्धन हुन नसकेर व्यापार घाटा बढ्दै गएको उनीहरूको तर्क छ । हरेक वर्ष आयात बढी र निर्यात कम हुने प्रचलनले पनि मुलुकको आर्थिक वृद्धिदर संकुचन हुँदै गएको उनीहरूको विश्लेषण छ ।
तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा विराटनगर भन्सारबाट सबैभन्दा बढी १२ अर्ब ७३ करोेड मूल्य बराबरको १ लाख ६ हजार मेट्रिक टन भटमासको कच्चा तेल नेपाल आयात भएको थियो ।
त्यसपछि ९ अर्ब ३२ करोड मुल्यको एमएस विलेट, ८ अर्ब ५ करोड मूल्यको पोलीथिन दाना, ६ अर्ब ३१ करोड मुल्यको स्टिल वायर रड, ५ अर्ब ९७ करोड मूल्यको तयारी पोशाक, ५ अर्ब ६ करोड मूल्यकोे सूर्यमुखीको कच्चा तेल, ४ अर्ब ८२ करोडको मकै र ४ अर्ब ५२ करोड मूल्यको लिक्विड पेट्रोलियम ग्यासलगायतका सामग्रीहरू नेपाल भित्रिएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए ।
विदेशबाट कच्चा पदार्थ ल्याएर फेरि उतैको बजारमा प्रतिस्पर्धा गर्न समस्या हुने भएकाले पनि निर्यात घटेको विराट व्यापार संघका अध्यक्ष सुजन थापाले बताए । ‘सरकारको नीतिगत कुरामा धेरै सुधार गर्नुपर्छ’, उनले भने, ‘नीतिगत कुरामा समस्या भएका कारण निर्यात कम भएको देखिन्छ ।’
नेपालमा सञ्चालित ठूला तथा निर्यातमा सहयोग गर्ने उद्योगहरू बन्द अवस्थामा रहेकाले पनि आयत बढी भएको थापाको तर्क छ ।
कतिपय नेपाली उत्पादनहरू कच्चा पदार्थको रुपमा विदेश निर्यात गर्ने र तयारी उत्पादनको रूपमा ठूलो मूल्य चुकाएर पुनः नेपाल आयात गर्ने परिपाटीले पनि मुलुकको अर्थतन्त्र डामाडोल बन्दै गएको विराट व्यापार संघका संख्थापक अध्यक्ष धुव्रप्रसाद दाहालको भनाइ छ ।
यसको दीर्घकालीन समाधानका लागि स्वयम् आत्मनिर्भर रहेको उत्पादनमा मुलुकले ‘एन्टी डम्पिङ शुल्क’ लगाउनुपर्ने उनले बताए । ‘भारतले जुटमा एन्टी डम्पिङ शुल्क लगाएको छ,’ उनले भने, ‘हामीले पनि आफू आत्मनिर्भर रहेको उत्पादनमा एन्टी डम्पिङ लगाउनुपर्छ । यसले व्यापार घाटा न्यूनीकरण हुनुका साथै नेपाली उत्पादनले वैदेशिक बजारमा राम्रो ठाउँ पाउँछ ।’
भारतले भने विगत ५ वर्षदेखि जुटमा एन्टी डम्पिङ लगाउँदै आएको छ । जसकारण सुनसरी–मोरङ करिडोरमा सञ्चालित ११ मध्ये ५ नेपाली जुट उद्योगहरू भारत र बंगलादेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर बन्द भईसकेका छन् भने केही बन्द हुने अवस्थामा छन् । पाथिभरा, विराटनगर, सीएम, निक्की र गुहेश्वरी यसअघि भारतीय बजारमा प्रतिस्पर्धा गर्न नसकेर बन्द भइसकेका जुट उद्योगहरू हुन् ।
विदेशी बजारमा नेपाली उत्पादनको ब्राण्ड बिल्डिङको अभावमा पनि तुलनात्मक रूपमा आयात बढ्ेर निकासी प्रबद्र्धनको अभावमा सुनसरी–मोरङ औद्योगिक करिडोरका कतिपय निर्यातमुखी उद्योगहरू यसअघि नै बन्द भइसकेका छन् ।
२०४६ सालमा यस करिडोरमा निर्यातमुखी उद्योगहरूको संख्या १ सय ५० थियो । तर व्यापार घाटाको भार थेग्न नसकेर उद्योगहरू बन्द हुने क्रम बढेसँगै हाल यस करिडोरमा निर्यातमुखी उद्योगहरूको संख्या ४३ मात्र छ ।
२०४१–०४९ को दशकमा यस करिडोरमा सञ्चालित उद्योगबाट उत्पादित वस्तुमध्ये ५० प्रतिशतभन्दा बढी निर्यात हुन्थ्यो । तर ५० दशक सुरु भएसँगै बढ्दो व्यापार घाटाका कारण ती उद्योगहरू बन्द हुने क्रम बढेको यस क्षेत्रका उद्योगी व्यापारीहरूले बताएका छन् ।
पछिल्लो १ वर्षमा मात्रै विराटनगर भन्सारबाट भने १२ अर्ब ९ करोड मुल्यको भटमासको प्रशोधित तेल निर्यात भएको छ । यसले निर्यात बढेको देखाए पनि समग्रहमा न्युन छ ।
४ अर्ब ६८ करोड मूल्यको सेन्थेटिक यार्न, ३ अर्ब ७९ करोडको जुटका बुनिएका कपडा, २ अर्र्ब २४ करोडको जुटको बोरा तथा झोला, १ अर्ब १ करोडको चाउचाउ, नुडल्स तथा पास्ता, ४३ करोड १९ लाख मुल्यको तामाको सिट, चादर तथा स्टिप र ४३ करोड ३ लाख मुल्य बराबरको सनपाटको धागो लगायतका नेपाली उत्पादनहरू भारत निर्यात भएका छन् ।
हाल सञ्चालनमा रहेका जुट, गार्मेन्ट, कपुर, वनस्पति, घिउ र मैनबत्ती लगायतका ३० बढी उद्योगहरू बन्द हुने अवस्थामा रहेको व्यवसायिले बताएका छन् ।