काठमाडौं । चिनियाँ पक्षले चासो नदिँदा केरुङ—काठमाडौं रेलमार्गअन्तर्गत नेपाल—चीन बोर्डर (केरुङ)सम्म रेलमार्ग निर्माण अलपत्र परेको छ । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा निकै महत्त्वका साथ अघि सारिएको केरुङ—काठमाडौं रेलमार्ग चीनतर्फको नाकासम्म रेलमार्ग बन्न सकेको छैन ।
अहिलेसम्म चिनियाँ पक्षले केरुङ नाकासम्म रेलमार्ग जोड्न सकेको छैन । बोर्डरबाट झन्डै डेढ सय किमिको दुरीमा मात्रै चिनियाँ रेल सञ्चालजमा छ । बोर्डरसम्म रेलमार्ग सञ्चालन गर्ने दायित्व चीन सरकारको नै हो । तर, रणनीतिक महत्त्वको यो आयोजना दुईदेशीय हितमा केन्द्रित छ ।
बोर्डरसम्म रेलमार्ग निर्माण नभए नेपालतर्फ रेलमार्ग अघि बढाउन नसकिने रेल विभागले जनाएको छ । केरुङ—काठमाडौं रेलमार्ग निर्माणमा ढिलाइ र चुनौती देखिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । ‘अहिलेसम्म बोर्डरसम्म रेलमार्गको ट्रयाक बनेको छैन । बोर्डरबाट झन्डै डेढ सय किमि पर छ चिनियाँ रेल’ उनले भने, ‘चिनियाँ पक्षले बोर्डरसम्मै रेलमार्ग बनाइसक्न १÷२ वर्ष पक्कै लगाउने देखिन्छ ।’
विभिन्न समयमा भएका चिनियाँ भ्रमण तथा कुटनीतिक पहलमार्फत् रेलमार्ग निर्माणसम्बन्धी अध्ययन र सर्भे समेत गरियो । चिनियाँ पक्षले केही वर्षअघि रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाली पक्षलाई बुझाइसकेको छ । त्यसयता, द्विपक्षीय वार्ता र सहमतिका धेरै प्रयास भए । तर, ठोस उपलब्धि देखिएन ।
चिनियाँ पक्षले आफ्नै सुरमा रेलमार्ग निर्माण अघि बढाउने र हतार नगर्न नेपाली पक्षलाई बेला बेला भन्दै आएको छ । उसले आयोजनाको आर्थिक मोडेल कस्तो हुने र कसरी बनाउने भनेर अपेक्षा गरिरहेको छ । तर, नेपाली पक्षले निर्माणको आर्थिक मोडालिटी र प्राविधिक अध्ययन टुङ्गो लगाउन सकेको छैन ।
आयोजना निर्माणको मोडालिटी र डिटेल डिजाइन अझै टुङ्गो लाग्न सकेको छैन । एक अर्थशास्त्रीका अनुसार नेपालले आफैँ बनाउन ‘फाइनान्सियल भायबल’ छैन ।
रेलमार्ग निर्माणका लागि साढे २ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । त्यसैले, ठूलो लगानी सरकारले मात्रै गर्न सक्ने अवस्था छैन । नेपाली पक्षले विभिन्न समयमा चिनियाँ अनुदान सहयोगमा बनाउने भन्दै आएको छ ।