चितवन। एक वर्ष पुग्दा पनि चितवनको सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ यात्रु अझै भेटिएका छैनन्। गत वर्ष असार २८ राती एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका दुई बसका यात्रुमध्ये ३९ जना अझै नभेटिएका हुन्।
नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए। तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन्।
दुवै बस अहिलेसम्म भेटिएका छैनन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बाप्र०३–००६ख१५१६ नम्बरको एन्जल्स डिलक्स बसमा २६ यात्रु थिए। तीमध्ये १० जना मृत फेला परेको र अन्य १६ जना अझै बेपत्ता छन्। सो बसमा सात जना भारतीय यात्रु सवार थिए। तीमध्ये दुई जना मृत फेला परेका थिए भने बाँकी ५ जना भारतीय नागरिक अझै बेपत्ता छन्।
त्यस्तै, बाप्र०३–००१ख २४९५ नम्बरको गणपति डिलक्समा ३६ जना यात्रु रहेका थिए। तीमध्ये तीन जना जीवित, १० जनाको शव फेला परेको र २३ जना अझै बेपत्ता रहेको उनले जानकारी दिए। तीमध्ये भारतीय चार जना थिए। तीन जना मृत फेला परेका थिए भने एक जना बेपत्ता छन्।
वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती गणपति डिलक्स बस पहिरोसहित त्रिशूलीमा खसालेको थियो। उक्त समय नेपाली गोताखोरले मात्र नसकेपछि विदेशबाट समेत गोताखोर मगाइएको थियो। तर, गोताखोरले पनि बेपत्ता यात्रु र बस फेला पार्न सकेका थिएनन्।
त्रिशूलीमा बाढी आएपछि लामो समय खोजी कार्य गरिए पनि बेपत्ता यात्रु र बस अझै फेला पार्न सकिएको छैन। त्यतिबेला फेला परेका मृतक २० जनामध्ये कतिपय शव त्रिशूली र कतिपयको शव नारायणी नदी किनारका विभिन्न क्षेत्रबाट फेला पारिएको थियो भने दुई वटा शव भारतमा फेला परेको थियो।
घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयले तत्काल सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । गृहमन्त्री रमेश लेखकले आफ्नो पहिलो निर्णय कार्यदल गठनमा हस्ताक्षर गरेका थिए। सो कार्यदलले प्रतिवेदन पेस गर्दै विपद् व्यवस्थापनलगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा रायसमेत दिएको थियो।
कार्यदलको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाका कारण लामो समयदेखि जनधनको क्षति भइरहेकोप्रति चिन्ता व्यक्त गरेको थियो। गृहमन्त्री लेखकले प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यदलले दिएको सुझाव मन्त्रालयले पनि कार्यान्वयन गर्नुका साथै अरु निकायलाई कार्यान्वयन गर्न लगाउने बताएका थिए।
सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढीकै कारण दुई वटा बस बगाएको आशयसहितको निष्कर्ष कार्यदल निकालेको थियो। प्रतिवेदनमा दुर्घटनास्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ–डिजाइनबिनै ग्रामीण सडक खनिएको उल्लेख छ।
प्रतिवेदनमा दुर्घटना स्थलमा कमजोर भूगोल तथा अत्यधिक क्रस स्लोप भएको देखिएको जनाइएको थियो । सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा वर्षाको समयमा पहिरो गई सडकमा क्रस गर्दै गएका दुईटा बसलाई पहिरोले धकेलेर त्रिशूली नदीमा खसालेको देखिएको प्रतिवेदनमा उल्लेख छ।
अध्ययनका क्रममा दुर्घटनामा बाँच्न सफल भएका व्यक्ति, प्रत्यक्षदर्शी, सडक विभाग, चितवन प्रशासन कार्यालयलगायतसँग छलफल गरिएको थियो। सडक दुर्घटनामा ज्यान गएकाको परिवारलाई उचित क्षतिपूर्ति र बिमाबापतको रकम दिन ढिलाइ नगर्न प्रतिवेदनले सुझाव दिएको छ। बेपत्ता भएका ३९ जनाको खोजी यथासक्य गर्न भनिएको थियो।–रासस