काठमाडौं । निजी लगानीमा सञ्चालन भएका २५ ओटा वाणिज्य बैङ्कमध्ये सबैभन्दा बढी नाफा गर्नेमा नविल भएको छ । गत आर्थिक वर्षमा नविलले ४ अर्ब २९ करोड ४१ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
सो नाफाबाट नविलले सेयरधनीलाई ३ अर्ब १८ करोड रुपैयाँ लाभांश दिनसक्ने देखिएको छ । सबैभन्दा कम सिभिल बैङ्क रहेको छ । सिभिलले गत वर्ष ८० करोड रुपैयाँ मात्र नाफा गरेको छ ।

नविलपछि नाफा गर्नेमा नेपाल इन्भेस्टमेन्ट बैङ्क रहेको छ । नेपाल इन्भेस्टमेन्टले ३ अर्ब ४१ करोड ५६ लाख रुपैयाँ नाफा गरेको छ । नाफाको हिसावमा दोस्रो भएपछि लाभांश वितरणमा नेपाल इन्भेस्टमेन्ट तल झरेको छ ।
उसले १ अर्ब ६१ करोड रुपैयाँ मात्र लाभांश बाँड्ने क्षमता राखेको छ । ३ ओटा ठुला कर्जामा समस्या आएपछि गत वर्ष नेपाल इन्भेस्टमेन्टको वित्तीय अवस्था कमजोर भएको छ ।

तेस्रो स्थानमा एनआईसी एसिया बैङ्क रहेको छ । एनआईसी एसियाले ३ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ । चौथौ स्थानमा रहेको एभरेष्ट बैङ्कले ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ, पाँचौ स्थामा रहेको हिमालयन बैङ्कले २ अर्ब ८४ करोड ७० लाख रुपैयाँ खुदनाफा गरेका छन् ।

यस्तै ग्लोबल आईएमई बैङ्कले २ अर्ब ७९ करोड ५१ लाख, स्ट्याण्डर्ड चाटर्ड बैङ्कले २ अर्ब ४९ करोड, प्राइम कमर्शियल बैङ्कले २ अर्ब ३६ करोड ५३ लाख, एनएमबी बैङ्कले २ अर्ब ३१ करोड र सिद्धार्थ बैङ्कले २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ नाफा गरेको छ ।

नेपाल एसबीआई बैङ्कले २ अर्ब ३० करोड ३६ लाख, सानिमा बैङ्कले २ अर्ब २४ करोड, प्रभु बैङ्कले २ अर्ब ५ करोड, मेगा बैङ्कले १ अर्ब ७१ करोड ९२ लाख, सनराइज बैङ्क १ अर्ब ७० करोड ७० लाख, माच्छापुच्छ्रे बैङ्कले १ अर्ब ७० करोड ३५ लाख, नेपाल बंगलादेश बैङ्क, १ अर्ब ६१ करोड ९५ लाख रुपैयाँ नाफा नाफा गरेका छन ।
यस्तै लक्ष्मी बैङ्कले १ अर्ब ५७ करोड ६० लाख, नेपाल क्रेडिट एन्ड कमर्श बैङ्कले १ अर्ब ५२ करोड ६८ लाख, बैङ्क अफ काठमाण्डुले १ अर्ब ४८ करोड ८४ लाख, सिटिजन्स बैङ्कले १ अर्ब ४८ करोड, जनता बैङ्क १ अर्ब ३४ करोड ४९ लाख, कुमारी बैङ्कले १ अर्ब ३३ करोेड ४० लाख, सेञ्चुरी कमर्शियल बैङ्कले ८६ करोड र सिभिल बैङ्कले ८० करोड रुपैयाँ नाफा गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
यो पनि हेर्नुहोस, बढी लाभांश दिने क्षमता राष्ट्रिय वाणिज्य र सबैभन्दा कम सेञ्चुरी बैङ्क
१ अर्ब रुपैयाँ भन्दा कम नाफा गर्नेमा सेञ्चुरी र सिभिल मात्र रहेका छन् । दुबै बैङ्क सबैभन्दा पछि स्थापना भएका हुन । सरकारको पूर्ण स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैङ्कले ५ अर्ब ३२ करोड ८३ लाख र वहुमत स्वामित्वको कृषि विकास बैङ्कले ४ अर्ब ३५ करोड ३२ लाख र नेपाल बैङ्कले २ अर्ब ६१ करोड १९ लाख रुपैयाँ नाफा गरेका छन् ।

२८ ओटा बाणिज्य बैङ्कहरुले गत आर्थिक वर्षमा ६४ अर्ब ९८ करोड ७८ लाख रुपैयाँ खुदनाफा गरेका छन । अघिल्लो वर्षको सोही अवधिमा ५२ अर्ब ३४ करोड २५ लाख रुपैयाँ खुदनाफा गरेका थिए ।
लगानीयोग्य पुँजीको अभाव हुँदा पनि वाणिज्य बैङ्कहरुले गत वर्ष नाफा २४.१६ प्रतिशत बढाएका छन् । २५ वटा बाणिज्य बैंकहरुले नाफा बढाएका छन भने ३ ओटाको घटेको छ । एनआइसी एसियाले १२९ प्रतिशतले नाफा बढाएको छ ।