विराटनगर । विराटनगर महानगरपालिकाले आफ्नो पाठ्क्रम निर्माण गरेको छ । नगरक्षेत्रका विद्यार्थीलाई स्थानीय भूगोल, भाषा, पर्व र संस्कृतिलगायतका विषयमा विज्ञ बनाउन आधारभूत तहका लागि महानगरपालिकाले नयाँ पाठ्यक्रम विकास गरेको हो ।
कक्षा १ देखि कक्षा ५ सम्म लागू हुने स्थानीय पाठ्यक्रमको शुक्रबार एक कार्यक्रमबीच विमोचन गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले पाठ्यक्रमको विमोचन गरेका थिए ।
यस्तै राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ मा भएको प्रावधान अनुसार स्थानीय तहले विद्यालय तहको पाठ्यक्रममा १ सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्न पाउने व्यवस्था अनुसार विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले ‘हाम्रो विराटनगर’ स्थानीय पाठ्यक्रम कक्षा १ देखि ५ निर्माण गरेको हो ।
यो पाठ्यक्रम विराटनगर क्षेत्रका सबै नीजि तथा सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०७८ देखि अनिवार्य लागू गरिएको छ । यही पाठ्यक्रममा आधारित रहेर नेपाली र स्थानिय भाषामा स्थानीय विषयको पाठ्यपुस्तक प्रकाशित हुनेछ ।
प्राध्यापक डा.अनिल पोखरेलको संयोजनमा स्थानीय पाठ्यक्रम निर्माण समितिले पाठ्यक्रम निर्माण गरेको हो । विमोचन कार्यक्रममा बोल्दै नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले पाठ्यक्रमले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई स्थानीय तहका भूगोल, इतिहास, परम्परा र संस्कृतिको बारेमा जानकारी बनाउने बताए ।
संस्थागत विद्यालयका तर्फबाट राजन छराहाङ, शिक्षक महासंघका सचिव डेकबहादुर बाँस्तोला, नेपाल शिक्षक संघका अध्यक्ष शिवराज कोइराला, विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, पाठ्यक्रम निर्माण समितिका संयोजक अनिल पोखरेललगायतले पाठ्यक्रम विकासले विद्यार्थीहरु स्थानीयताबारे विज्ञ हुने र भविष्यमा यस्ता जानकारी जीवन निर्माणमा सहायक बन्ने बताए ।
पाठ्यक्रममा आउने सुझावलाई आधार मान्दै कक्षा ६ देखि ८ सम्मको परिष्कृत पाठ्यक्रम चाँडै नै निर्माण गरिने मेयर पराजुलीले जानकारी दिए । आफ्नो भूगोलमा के कस्तो अवस्था छ भन्ने विषय पाठ्यक्रममा उल्लेख गरिएकाले हजारौं विद्यार्थीहरुका साथै अभिभावकहरु पनि लाभान्वित हुने अपेक्षा महानगरपालिकाको छ ।