काठमाडौं । मंगलबार सेयर बजारमा पछिल्लो साताकै सबैभन्दा ठूलो गिरावट आएको छ । आइतबार ३०४४ अंकमा रोकिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ६९ अंकले घटेर २०७५.८४ विन्दुमा रोकिएको छ ।
मंगलबारको घटाइ पछिल्लो साताकै उच्च हो । यसअघि ५० अंक हारहारीले ३ दिनै बजार घटेको थियो । भदौ २ गते हालसम्मकै उच्च ३१९८ विन्दुमा रहेको सेयर बजार सूचक पछिल्लो ६ दिनमा ५ दिन घटेको छ । त्यसमध्ये ४ दिन उच्च अंक घटेकोमा मंगलबार सबैभन्दा धेरै गिरावट आएको छ ।
सोमबार श्रीकृष्ण जन्माष्टमीका कारण सार्वजनिक विदा भएकाले सेयर कारोबार भएन । मंगलबार कारोबार खुल्दा आइतबारको तुलनामा ३ अंक बढे पनि बजार निरन्तर घट्दो क्रममा छ । बीचबीचमा उठ्ने कोशिश गरे पनि त्यसपछि घट्ने क्रम झन गहिरो देखिएको छ ।
मंगलबारको कारोबार प्रवृत्ति हेर्दा बुधबार पनि बजार केही घटन सक्ने देखिन्छ । यद्यपी बजार प्रवृत्तिले नेप्से सूचक २९०० विन्दु नजिक पुगेर फर्किने संकेत गरेको छ ।
खासगरी जलविद्युतको नियामक विद्युत नियमन आयोगको सेयर खरिद गर्दा विभिन्न १६ वटा सूचकहरु हेर्न गरेको सार्वजनिक आब्हान र मौद्रिक नीतिमार्फत आएको सेयर कर्जा सीमालाई अझ कडाइ गर्दै केन्द्रीय बैंकले जारी गरेको सेयर धितोमा दिइने सीमालाई एकल ग्राहक कर्जाभित्र व्याख्या गरी प्रति संस्था ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँ बनाएको असर सेयर बजार कारोबारमा देखिएको छ ।
विगतमा उच्च अंक हुँदा सेयर बिक्री गरेर बसेका लगानीकर्ताहरुले अझ खरिदको अवसर पर्खिरहेका छन् । र, उनीहरुले बजार घटाउन दबाब दिइरहेको छ । यद्यपी कारोबार रकममा भने एकदमै ठूलो गिरावट छैन । उच्च कारोबारबाट भने झण्डै ३० प्रतिशत हारहारी घटेको छ ।
मंगलबार कारोबार भएका सबै सूचकहरु रातामैं भएका छन् । मंगलबार १३ अर्ब २५ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो ।
विगतमा जलविद्युत समूह सूचकमा उछाल आउँदा नेप्सेमा चमक आउने घटेदा बजारमा गिरावट आउने गरेको प्रवृत्तिलाई मंगलबार पनि पछ्याएको छ । उच्च मूल्य घट्ने कम्पनीहरुमा जलविद्युतकै वर्चस्व छ । मंगलबार १७२ वटा कम्पनीहरुको सेयर मूल्य घटेको छ ।
त्यसमध्ये १० कम्पनीहरु मध्ये जलविद्युतकै ८ वटा छन् । सबैभन्दा धेरै रुरु जलविद्युत परियोजनाको नकरात्मक सर्किट लागेर कारोबार भएको छ । मध्य समयमा माउन्टेन हाइड्रोको सेयर मूल्यमा नकरात्मक सर्किट लागे पनि पछिल्लो समय केही सुधारिएर कारोबार भएको थियो ।
उता कर्णाली विकास बैंकको सबैभन्दा धेरै साढे ७ प्रतिशतले मूल्य बढेको छ । मूल्य बढ्ने उच्च १४ कम्पनी मध्ये ४ वटा विकास बैंक छन् ।
यस दिन सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रोपावरको १ अर्ब १ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत आइतबार पनि सबैभन्दा बढी कारोबार गर्नेमा अरुण भ्यालीनै थियो ।
यो पनि हेर्नुहोस
५ दिनमा १५३ अंकले झर्यो नेप्से, खानीखोलामै चलखेल, मंगलबार पनि घट्न सक्ने
लगानीकर्ता कसरी डुब्छन्, जलविद्युत् क्षेत्रलाई हेरे पुग्छ, २० कम्पनीमा नकारात्मक सर्किट
सेयर बजार जलविद्युत समूहमा निर्भर, जलविद्युत घटे घट्छ बढे बढ्छ