काठमाडौं । पछिल्लो समय सेयर बजार जलविद्युत क्षेत्रको नियन्त्रण पुगेको छ । जलविद्युत समूहले सेयर बजारलाई नेतृत्व गर्न खोजिरहेको देखिएको छ ।
जलविद्युत समूहको मूल्यमा उछाल आउँदा सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पनि वृद्धि देखिने र जलविद्युत समूह ओरालो लाग्दा सेयर सूचक पनि ओरालो लाग्ने गरेको छ ।
यो साताका दुई दिन (मंगलबार र बुधबार) जलविद्युत समूहमा उच्च गिरावट देखिएसँगै सेयर बजार सूचक पनि दुबै दिन ५० अंक भन्दा बढीले घटेको थियो ।
तर, साताको अन्तिम दिन बिहीबार जलविद्युत समूहमा चमक देखिएपछि बजार सूचक पनि १७.५७ अंकले बढेर नेप्से सूचक ३०९४ अंकमा रोकिएको छ । यद्यपी कारोबारका बीचमा नेप्से सूचक ३१०८ अंकसम्म चढेको थियो भने पछि घटेर ३०७१ अंकसम्म पुगेको थियो ।
कारोबारको सुरुदेखि नै जलविद्युत समूहले बिहीबार वृद्धिको संकेत गरेको थियो । उच्च १० कारोबार (सर्किट) लागेका कम्पनीहरु मध्ये ५ वटा जलविद्युत समूहका छन् । जलविद्युत समूह बढेसँगै त्यसले विकास बैंक र वित्त कम्पनी समूहमा पनि उछाल ल्याएको छ ।
सर्किट लागेका १० कम्पनीभित्र २ विकास बैंक र २ वटा वित्त कम्पनीहरु छन । कारोबार सुरु भएदेखि निरन्तर सर्किट लाग्दै आएको जीवन विकास लघुवित्त पनि सर्किट लागेरै कारोबार भएको छ । यसदिन उच्च कारोबार हुने कम्पनीहरुमा पनि जलविद्युतकै वर्चस्व छ ।
उच्च १० कारोबार मध्ये ५ वटा जलविद्युत कम्पनीहरु छन् । बिहीबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९३ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बिहीबार १३ अर्ब ४२ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा जलविद्युत समूहको मात्रै ४ अर्ब १ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो करिव एक तिहाइ हिस्सा हो ।
बिहीबार जीवन बिमा, निर्जीवन बिमा, उत्पादनमूलक तथा प्रशोधन, व्यापार, बैंकिङ, लगानी, म्युचअल फण्ड र अन्य समूह सूचक भने ओरालो लागेका छन् । कारोबारले विद्युत नियमन आयोगको सार्वजनिक सूचनालाई समेत चुनौति दिंदै बजार अघि बढ्ने छनक दिएको छ ।