काठमाडौं । सेयर बजारमा केही दिनदेखि देखिएको तीब्र उतार चढाबको श्रृखलाले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबार २९८० बिन्दूमा रोकिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक आइतबार कारोबार खुल्ने वित्तिकै ३००१ बिन्दूमा चढेको थियो । तर, त्यो चढाई क्षणिक देखियो र १५ मिनेटभित्रै बजार सूचक २९२९ अंकमा ओर्लियो ।
त्यसपछि पनि बजार बढ्ने र घट्नेक्रम निरन्तर रहे पनि बढ्दो बिन्दूले सुरुवाती उचाइलाई छुन सकेन । तर, कारोबारको मध्य समयपछि भने एकाएक निरन्तर ओरालो लाग्यो । र कारोबार बन्द हुनु २५ मिनेटअघि नेप्से सूचक २९१३ बिन्दूसम्म झर्यो । त्यसपछि विस्तारै उकालो चढ्न खोजेको सूचक ४४.१८ अंकले घटेर २९३६.६१ बिन्दूमा रोकियो ।
मंगलबार दिनभर सुरुवती उच्च बिन्दूबाट अन्तिमको न्यून बिन्दूलाई केलाउँदा ८८ अंकको उचारचढाव देखिन्छ । यस्तै उतारचढाव सोमबार र आइतबार पनि थियो । सोमबार १६१ अंकले बढेको थियो भने आइतबार १४७ अंकले घटेर सर्किट लाग्दै केही समय कारोबार समेत रोकिएको थियो । तर, पछिल्लो समय केही सुधारिँदै १०८ अंक घटेर कारोबार बन्द भएको थियो ।
सोमबार सुरुवती चरणमा नेप्से सूचक केही घटेको थियो । तर, अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई फोनमार्फत सेयर बजारका समस्या समाधानका लागि पहल लिन र गभर्नरकै राजनीमान माग्दै सेयर लगानीकर्ताहरु राष्ट्र पुगेर ज्ञापनपत्र बुझाएपछि बजार एकाएक उचालिएको थियो ।
अर्थमन्त्रीसँगको फोनवार्तामा गभर्नरले समस्या समाधान गर्न पहल लिने प्रतिबद्धता जनाएको सूचना बाहिरिएपछि बजार तातेको थियो । तर, केन्द्रीय बैंक पदाधिकारीमार्फत तत्काल सेयर धितो कर्जा सीमामा कुनै हेरफेर हुने सम्भावना नरहेको भन्ने प्रकृत्तिका खबरहरु चलाएमान बनेपछि मंगलबारको बजार फेरि घटेको हो ।
नीतिमा ४ करोड र १२ करोडको सेयर धितो कर्जालाई केन्द्र बिन्दूमा राखे पनि सतहमा ठूला लगानीकर्ताहरुले बजार अझ तल झारेर आफूअनुकूल बजार चल्छ र आफ्नो नीतिहरुलाई अरुले सहयोग गर्नुपर्छ भन्ने तहमा पुर्याउन तल्लिन छन् ।
सतहमा आएका ४ करोड र १२ करोडको कर्जा सीमाभित्र पर्ने लगानीकर्ताहरुको संख्या अत्यन्तै न्यून छ । दैनिक कारोबारमा लाखौ लगानीकर्ता सहभागि भएको भनिए पनि ४ करोड भन्दा बढी ऋण लिने लगानीकर्ता ६ सयको हाराहारीमा रहेको अनौपचारिक तथ्यांकहरु सार्वजनिक भएका छन् ।
यसले ठूला लगानीकर्ताले नै बैंकबाट ऋण लिएर त्यसैका आधारमा बजार चलायमान बनाउन खोजेका छन् भन्ने देखिन्छ र साना लगानीकर्ताले खोचे÷च्याखे थापेर कमाउन खोजिरहेको पाइन्छ । त्यसैले पनि साना लगानीकर्ता आफूलाई सरोकार नै नहुने विषयमा ठूला लगानीकर्ता भनिएकाहरुलाई सहयोग गर्न तत्पर छन् । र त्यसैको परिणाम सोमबार राष्ट्र बैंकमा लगानीकर्ता भेला भएका हुन् ।
सूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । यसले बिक्रीकर्ताहरु थप दबाब झेल्न खोजिरहेका छन् भन्ने देखाउँछ । त्यसबाट बुधबार र बिहीबार बजारमा सुधारको अधिक सम्भावना छ ।
तर, दबाब दिने उद्देश्यले लगानीकर्ताहरु अझै एक झट्का सेयर बजारमा लगाउन चाहन्छन् । त्यसो भयो भने थप घट्ने सम्भावना हुन्छ । मंगलबार ७ अर्ब ४९ करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । जबकी, सोमबार ९ अर्ब ८२ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
यसदिन युनाइटेड मोदिको सबैभन्दा धेरै ६१ करोड ९२ लाख रुपैयाको सेयर कारोबार भएको छ भने दोस्रो बढी मूल्य बढ्ने कम्पनीमा पनि युनाइटेड नै छ । उसको मूल्यमा मंगलबार ७.७८ प्रतिशतले वृद्धि भएको छ । गतसातदेखि कारोबार सुरु भएको सानीमा लाइफ इन्स्योरेन्सको भने १० प्रतिशतले मूल्य बढेर सर्किट लागेको छ ।
उता मूल्य घट्ने कम्पनीहरुको सूचीको अग्रपत्तिमा आरएमडीसी माइक्रो फाइन्नासको ७.७३ प्रतिशतले मूल्य घटेको छ भने उसलाई पच्छ्याएको रुरु हाइड्रोको ७ प्रतिशतले मूल्य घटेको छ । ३७ कम्पनीको मूल्य बढेको छ भने १७३ कम्पनीको मूल्यमा गिरावट आएको छ ।