काठमाडौं । नेपाल आयल निगमले हाइड्रोजन ऊर्जा उत्पादनमा चासो देखाएको छ । पेट्रोल र डिजेलको विकल्पमा विश्वका धेरै मुलुकहरुले हाइड्रोजन ऊर्जालाई लिइरहेको बेला आयल निगमले पनि त्यसप्रति चासो देखाउँदै उत्पादनका लागि छलफल सुरु गरेको छ ।
निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा ‘ग्रिन हाइड्रोजन ल्याब’ स्थापना गरेर हाइड्रोजन ऊर्जाको उत्पादन, यसको आवश्यकता र प्रयोगबारे अध्ययन गरिरहेको जानकारी दिए ।
हाल काठमाडौं विश्वविद्यालयले ग्रिन हाइड्रोजन ल्याब स्थापना गरी हाइड्रोजन ऊर्जा उत्पादनसम्बन्धी अध्ययन सुरु गरेको छ । जुन ल्याब नेपालको पहिलो हो ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले इन्धनका स्रोत विस्तारै परिवर्तन हुँदै गएको र पेट्रोलियम पदार्थ मात्र नभई अरु नवीकरणीय ऊर्जालाई पनि हाइड्रोजन ऊर्जाले प्रतिस्थापन गर्न सक्नेबारे सोच्ने बेला आएको बताए ।
विकसित मुलुकहरुले पेट्रोलियम पदार्थ तथा कार्बन उत्सर्जन गर्ने ऊर्जालाई शून्यमा झारेर हरित ऊर्जालाई अवलम्बन गर्न विभिन्न रणनीति तथा प्रयोग गरिरहेका छन् । यसमध्ये हाइड्रोजन इनर्जी सम्भावित क्षेत्रका रुपमा पहिचान भइसकेको छ ।
विभिन्न मुलुकले ऊर्जा क्षेत्रको अबको बाटो हाइड्रोजनको प्रयोगबाट तय गर्ने रणनीति बनाइसकेका छन् । ल्याब सञ्चालनको नेतृत्व गरिरहेका विराज सिंह थापाले हाइड्रोजन अब ऊर्जा क्षेत्रको प्रभावकारी र दियो स्रोतका रुपमा उदाउने बताए ।
विकसित मुलुकमा हवाईजहाज, रेल, बस, पानी जहाजलगायत यातायातका क्षेत्रमा हाइड्रोजन प्रयोग हुन थालिसकेको जनाएको छ । हाल नर्वे, फ्रान्स, भारत, चीन, दक्षिण, कोरिया, अमेरिकालगायत देशले पछिल्लो समय हाइड्रोजन उत्पादनका लागि आफ्ना रणनीति सार्वजनिक गरिरहेको जनाएको छ ।