काठमाडौं । लामो समयपछि प्रतिफल दिने कम्पनीमा लगानी गरेर आफू परिपक्क लगानीकर्ता रहेको देखाउन खोजेका छन् । विगत केही समय देखि वर्षौसम्म शून्य प्रतिफल दिने कम्पनीमा लगानी गरेर बजारलाई नै अनिश्चिततातर्फ धकेलेका लगानीकर्ताले विस्तारै पर्फमेन्स बेस कम्पनीमा लगानी गरेको देखिएको छ ।
शून्य प्रतिफल दिने जलविद्युत् कम्पनी, नगन्य मात्रामा प्रतिफल दिने फाइनान्स, समस्याग्रस्तबाट भरखरै बाहिर निस्किएका कम्पनीमा मात्र लगानीकर्ता आकर्षित हुँदा बजारनै अनिश्चिततातर्फ अघि बढेको थियो । तर, गत बिहीबारदेखि लगानीकर्ताहरु बैंकिङ समूह सूचकतिर मात्रै लगानी गरेर आफू परिपक्क लगानीकर्ता रहेको देखाउन खोजेका छन् ।
बिहीबार अन्य समूह सूचक सबै ओरालो लाग्दा पनि बैंक ४३ अंकले बढेर बन्द भएको छ । लगानीकर्ताले आफूसँग भएको अन्य कम्पनीका सम्पूर्ण सेयर बेचेर त्यहाँबाट बैंकतिर सिफ्ट भएका हुन् ।
अहिले सबै लगानीकर्ताको मनस्थिति शून्य प्रतिफल दिने कम्पनीको सेयर बेचेर बैंक तिर जानुपर्छ भन्ने छ । हुन त अहिले बैंकले धमाधम लाभांश दिन थालिसकेका छन् । विकास बैंकदेखि वाणिज्य बैंकले समेत लाभांश सार्वजनिक गरिरहेका छन् । त्यही प्रतिफल खानका लागि मात्रै पनि उनीहरु यतातिर आकर्षित भएका हुन सक्छन् ।
बैंकिङ समूह सूचक जहिले पनि लाभांश दिने बेलामा हरियाली भएको हुन्छ । लाभांश पचिसकेपछि फेरि लगानीकर्ता शून्य प्रतिफल दिने कम्पनीतिर आर्कषित हुन सक्छन् । त्यो गर्नु बजारका लागि घातक हुने लगानीकर्ताको नै बताउँछन् ।
बजारमा जलविद्युत्, फाइनान्सजस्ता कम्पनीको मूल्य अस्वभाविक वृद्धि भएपछि नियामहरुले बजारलाई नियन्त्रण गर्न खोजेका हुन् । यदि राम्रा कम्पनीमा मात्रै सेयर लगानीकर्ता आकर्षित भएको भए केन्द्रीय बैंकले सेयर धितो कर्जामा ४ र १२ करोडको सीमा लगाउने सम्भावना हुँदैन थियो । शून्य प्रतिफल दिने कम्पनीको मूल्य बेलुन जसरी फुले पछि नियामकले बजारलाई दूर्घटना हुनबाट जोगाउन यो सबै गरिएको हो ।
लगानीकर्ताले हरेक वर्ष प्रतिफल दिने कम्पनीलाई बेवास्ता गर्दै सेयर बजारलाई जुवाको रुपमा परिणत गरे पनि धितोपत्र बोर्ड, केन्द्रीय बैंक र अर्थमन्त्रालय नै बजारलाई नियन्त्रण गर्नुपर्छ भन्नेमा पुगेका हुन् । यदि लगानीकर्ताले फेरि त्यही गल्ती गरे बजारमा ठूलो दूर्घटना हुन सक्ने केही लगानीकर्ताहरु बताउँछन् ।