काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको ‘मानहानि र बदनामी मुद्दा’ दायर गर्ने घोषणा गरेका छन्।
‘न्युयोर्क टाइम्सलाई स्वतन्त्र रूपमा झूट बोल्न, धब्बा लगाउन र मलाई धेरै लामो समयसम्म बदनाम गर्न अनुमति दिइएको छ, तर अब त्यो रोकिन्छ,’ उनले सोमबार आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा लेखेका छन्। मुद्दा फ्लोरिडामा दायर गरिएको जनाइएको छ।
एएफपीले टिप्पणीका लागि न्युयोर्क टाइम्सलाई सम्पर्क गरेको छ। ट्रम्पले उक्त समाचार पत्रलाई ‘रेडिकल लेफ्ट डेमोक्रेट पार्टीको भर्चुअल मुखपत्र’ भन्दै निन्दा गरे। उनले यसले आफ्नो परिवार, व्यवसाय, ‘अमेरिका फर्स्ट’ आन्दोलन, मेगा अभियान र समग्रमा राष्ट्रबारे झुट बोल्दै आएको आरोप लगाए। तर, कुनै प्रमाण भने प्रस्तुत गरे।
गत हप्ता एक समाचार माध्यमले ट्रम्पले यौन अपराधी जेफ्री एपस्टेनलाई दिइएको अश्लिल जन्मदिन नोटसम्बन्धी लेखका विषयमा कानुनी कारबाही गर्ने चेतावनी दिएको रिपोर्ट प्रकाशित गरेको थियो। ट्रम्पले भने उक्त नोट लेखेको अस्वीकार गरेका छन्।
ह्वाइट हाउस फर्किएपछि ट्रम्पले आफ्नो प्रशासनको आलोचना गर्ने पत्रकारलाई बारम्बार गाली गर्ने, पहुँच रोक्ने र मुद्दा दायर गर्ने क्रममा परम्परागत मिडियामाथि आक्रमण तीव्र पारे।
एपस्टेनसँगको मित्रताबारे लेख प्रकाशित गरेपछि उनले गत जुलाईमा मिडिया म्यागनेट रुपर्ट मर्डोक र ‘द वाल स्ट्रिट जर्नल’विरुद्ध कम्तीमा १० अर्ब डलरको मुद्दा दायर गरेका थिए।