काठमाडौं। पर्यटकीय सिजनको मुखमा जेनजीको आन्दोलनले होटल व्यवसायमा अकुपेन्सी २० प्रतिशतभन्दा कममा झरेको छ। भ्रष्टचार अन्त्यसहित विभिन्न माग राख्दै जेनजीहरुको आन्दोलनपछि भएको विध्वंशले त्रसित हुँदै विदेशी पर्यटकहरुले धमाधम होटल बुकिङ रद्द गर्न थालेपछि होटल व्यवसायीहरु समस्यामा परेका छन्।
काठमाडौं म्यारियट होटलका सञ्चालका शशीकान्त अग्रवालले अहिले पर्यटकको आगमनको तथ्यांक कोभिड-१९ को अवस्थामा पुगेको जानकारी दिए। होटलको अकुपेन्सी २० प्रतिशतभन्दा कममा रहेको बताउँदै यही अवस्था रहे पर्यटन क्षेत्र ध्वस्त हुने स्थिति देखिएको उनको भनाइ थियो।
नेपालमा सेप्टेम्बरपछि पर्यटकीय सिजनको रुपमा लिँदै आएको छ। पदयात्राका लागि विदेशीहरु धेरै नेपाल आउने गरेकोमा यो वर्षको सिजनकै मुखमा भएको विध्वंशले नेपाल आउन लागेकाहरुले पनि धमाधम बुकिङ रद्द गरिरहेको जनाएको छ।
जेनजी आन्दोलनको क्रममा पाँचतारे होटल हिल्टन पूर्ण रुपमा ध्वस्त भएको छ। अर्को पाँचतारे होटल हायात रिजेन्सीमा पनि क्षति पुगेको छ। योसँगै वर्णवास होटलमा पनि जेनजीको आन्दोलनकारीले आगो लगाइदिएका थिए। यसरी एकैपटक दुई वटा पाँचतारे होटल र अर्को तारे होटल बन्द रहँदा पनि अरु होटलको बुकिङ १५ देखि २० प्रतिशतमा सिमित भएको हो। यसले पर्यटन क्षेत्रका लागि दुःखदायी स्थिति रहेको व्यवसायीहरुको भनाइ छ।
द सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको असर पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा परेको बताए।
होटल एसोसिएन अफ नेपाल(हान)का अध्यक्ष विनायक शाहले होटलको अकुपेन्सी घटेको बताए। ‘अहिले धेरै होटलमा बुकिङ रद्द भएको जानकारी पाइरहेको छु,’ अध्यक्ष शाहले भने, ‘अब होटलको बुकिङ रद्द हुन कम गराउनका लागि मुलुकमा शान्ति छाएको सन्देश विश्वभर दिने प्रयत्न गरिरहेका छौँ।’
विध्वंशपछि सुरुवाती चरणमा विश्वभर पर्यटकको आगमनमा न्यून हुने बताउँदै अब नेपाल शान्त भइसक्यो, घुम्न आउनुस् भन्ने सन्देश विभिन्न ट्राभल एजेन्सीमार्फत दिन सुरु गरिएको उनको भनाइ थियो।
द सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको असर पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा परेको बताए। ‘अहिले होटलको अकुपेन्सी निकै घटेको छ,’ उनले भने, ‘अकुपेन्सीसँगै विदेशीहरुले बुक भएका कोठाहरुसमेत धेरै रद्द गर्ने क्रम बढेको छ।’
अहिले जसरी होटलको बुकिङ रद्द गर्नेहरुको संख्या बढेको छ। यही आधारमा पछि आउनेहरुको संख्या पनि बढ्ने अपेक्षासहित आशावादी भएर काम गरिरहेको उपाध्यक्ष चापागाईको भनाइ छ।
हानका कोषाध्यक्ष एवं पर्यटन व्यवसायी युवराज श्रेष्ठले पनि दसैंअघिसम्म बुकिङ रद्द हुन थालेको बताए। ‘अहिले दिन प्रतिदिन होटलको बुकिङ रद्द गर्नेहरुको संख्या बढिरहेको छ,’ व्यवसायी श्रेष्ठले भने, ‘सिजनकै मुखमा भएको विध्वंशले पर्यटकीय चहलपहल ठप्प भयो।’