पोखरा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को व्यस्त जीवनपलाई स्वस्थ राख्ने उद्देश्यका शुरु गरिएको ‘वाक द टक’ कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ ।
डब्लूएचओ नेपालका प्रमुख डा. राजेश समबाजीराव पाण्डव सहितको टोलीले पोखराको बाराहीघाटदेखि बङ्लादी सम्मको करिब २ किलोमिटर फुटट्राकका हिडेर सो कार्यक्रम सम्पन्न गरेको हो । डब्लूएचओका नेपालमा प्रमुख डा.पाण्डवले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्ये शुरु भएको हिड्दै कुरा गर (वाक द टक) कार्यक्रम व्यस्त जीवनका लागि अपरिहार्य हुँदै गएको बताए ।
उनले विश्वभरीनै कोभिड १९ को महामारीले मानव जीवनको स्वास्थ्यमा नकरात्मक असर पारेका जनाउँदै स्वस्थ जीवनयापनका लागि शारीरिक व्यायाम महत्वपूर्ण हुँदै गएको बताए । सोही क्रममा डा. पाण्डवले पोखराको पहिलो पटक आएको अनुभव सुनाउँदै यहाँको प्राकृतिक सौन्दर्यताले आफूलाई निकै लोभ्याएको बताए ।
उनले भने “पोखरा निकै सुन्दर लाग्यो, हिमश्रृंखला र तालतलैया निकै लोभलाग्दो रहेछ ।” उनले पोखरामा पहिलोपल्ट ‘वाक द टक’ कार्यक्रम भएको जनाउँदै यसले एकअर्का बीच आत्मियता र भाइचारा वृद्धि गराउनुका साथै मानसिक स्फूर्ति बढाउने बताए ।
डब्लूएचओको ७० औं वार्षिकोत्सवको अवसरमा सन् २०१८ देखि वाक द टक अभियान शुरु भएको हो । यस अभियान नेपालको लुम्बिनी, काठमाडौ, कर्णाली र जनकपुरमा पनि सम्पन्न भइसकेको डब्लुएचओ नेपालका सञ्चार अधिकृत सुधन ज्ञवालीले जानकारी दिए ।
उनले व्यस्त जीवनलाई स्वस्थ राख्नका लागि हिड्दै गफ गर्ने र प्रकृतिसँग रमाउँदै एकअर्काबीच कुराकानी गर्दा शारीरिक एवम् मानसिक स्फूर्ति बढ्ने बताए । पोखरा पर्यटकीय नगरी भएकाले यहाँको पर्यटन प्रवर्द्धनसँगै स्वस्थ जीवनका लागि हिडौ भन्ने सन्देशका दिनका लागि पनि फेवा किनारमा कार्यक्रमको आयोजना गरिएको उनको भनाइ थियो ।
पदयात्रा अघि कार्यक्रममा सहभागिहरुले फेवा किनारमा योगध्यानसमेत गरेका थिए । डब्लूएचओ प्रतिनिधिसहित पोखराका विभिन्न क्षेत्र र संघ संस्था र प्रतिनिधि सहित करिब ५० जनाको सहभागिता रहेको थियो ।