भोजपुर। परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा जिल्लामा ‘भोजपुरे खुकुरी’ निर्माणमा संकट देखिएको छ। दक्ष कालीगढ अभावले मागअनुसारको उत्पादन गर्न नसकिएको व्यवसायी बताउँछन्।
पुस्तान्तरण नहुँदा तथा संरक्षण अभावले कालीगढ पेसा संकटमा पर्दै गएको हो। भोजपुरे खुकुरी माग स्थानीय बजार, बाहिरी जिल्लासँगै अन्तर्राष्ट्रिय बजारसम्म हुने भए पनि मागअनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यावसायीको भनाइ छ।
खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय कालीगड हर्कबहादुर विश्वकर्माले बताए। कालीगड पेसामा नयाँ पुस्ताको रुचि हराउँदै गएका कारण खुकुरी उत्पादनमा कमी आउँदा माग धान्न समस्या रहेको उनको धारणा छ।
‘पछिल्लो समय भोजपुरे खुकुरीको देश–विदेशबाट माग आउने गरेको छ’, उनले भने, ‘गाउँघरमा अहिले दक्ष जनशक्ति नहुँदा उत्पादनमा कमी आएको छ। बजार मागलाई धान्न मुस्किल छ। यो पेसालाई पुस्तान्तरण अभाव देखिएको छ।’
मुख्यगरी भोजपुरे, सिरुपाते, चित्लांगले कोथीमोडालगायत खुकुरीको बजारमा बढी माग रहेको उनले बताए। उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम १ हजारदेखि अधिकतम २० हजारसम्म पर्ने व्यवसायी दिनेश गजमेरले जानकारी दिए।
बाहिरका जिल्लाबाट २/४०० खुकुरी माग आए पनि धेरै खोजिए पुर्याउन नसकिने उनको भनाइ छ। विगत वर्षमा धेरै कालीगढ भए पनि पछिल्लो समय व्यावसायिक रूपमा यो काम गर्ने मानिसको संख्या क्रमशः घट्दै गएको उनले जानकारी दिए। बढी मिहिनेत गर्नुपर्ने साथै व्यवसाय गर्न आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले पेसा संकटमा पर्दै गएको उनले बताए।
विदेश जाने लहरको कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरन उद्योग बन्द हुँदा खेतीपातीका लागि आवश्यक पर्ने कृषि औजार उपकरण बनाउने जनशक्ति पनि अभाव देखिन थालेको छ।–रासस