काठमाडौं। भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा कालोपत्रे सडकमा खासै क्षति नपुगे पनि आगलागीका कारण सडक विभाग र मातहतका कार्यालयका भौतिक संरचनामा ठूलो क्षति भएको छ।
विभागका महानिर्देशकको कार्यकक्ष, पुल महाशाखा र अन्तर्गतका शाखा, वैदेशिक सहायता समन्वय महाशाखा र अन्तर्गतका शाखा, यान्त्रिक महाशाखा र अन्तर्गतका शाखा आन्दोलनकारीले आगो लगाउँदा पूरै जलेका छन्।
यस्तै, सम्भार महाशाखा र अन्तर्गतका शाखा, प्रशासन शाखा, उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना र अन्तर्गतका शाखा र आर्थिक प्रशासन शाखा पूर्ण रुपमा क्षति भएको छ।
विभागका अनुसार पुष्पलाल(मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय, नागढुंगा सुरुङमार्ग आयोजना, हुलाकी राजमार्ग योजना निर्देशनालय र अन्तर्गतका शाखा, कानुन तथा विवाद व्यव्स्थापन शाखा र सडक सुधार तथा विकास योजना कार्यालयमा आंशिक क्षति भएको छ।
विभागका दुईपांग्रे करिब ७५–८० वटा, चारपांग्रे करिब ६५–७० वटा गाडीमा आन्दोलनकारीले आगो लगाउँदा जलेर नष्ट भएका छन्। विभाग मातहतका कार्यालयमा दुईपांग्रे करिव ९–१२ वटा, चार पांग्रे करिब २५–३० वटा पूर्ण रुपमा क्षति भएको छ।
विभाग मातहतका कार्यालयमा सडक डिभिजन भक्तपुर, दाङ, चन्द्रपुर, महेन्द्रनगर (धनगढी साइट), हुलाकी आयोजना (धनगढी साइट) आगलागीले ध्वस्त भएका छन्।
विभागका महानिर्देशक विजय जैसीले आन्दोलनका क्रममा भएको क्षतिको विवरण संकलन र लगत राख्न सुरु गरिएको जानकारी दिए। आगलागीले ध्वस्त भए पनि चाडपर्व लक्षित सडक मर्मत निरन्तर जारी रहने उनले बताए।