काठमाडौं । हिन्दुहरुको महान पर्व दसैं नजिकिँए सँगै न्यून विन्दूमा झरेको सेयर बजार सूचक केही उक्लिने संकेत गरेको छ । गतसातादेखि तीब्र घटेको बजार सूचक सोमबार केही रोकिएको छ । यद्यपि, ६.६८ अंकले घटेर २५७०.८१ बिन्दूमा रोकिएको छ ।
सोमबार बजारमा खेलाडीहरुले सेयरको मूल्यलाई निकै खेलाउन खोजे । यसले लगत्तै बढ्ने र लगत्तै घट्ने प्रवृत्ति देखायो । आइतबार रोकिएको बिन्दू २५७७ मा खुलेको बजार २५४२ अंकसम्म झर्यो । तर, त्यसपछि बढ्दै २५९६ सम्म चढ्यो ।
दिनभर बजार घट्ने र बढ्ने प्रतिस्पर्धा रहे पनि सुरुवाती घटाइलाई पच्छ्याउन सकेन र अन्तिम समयमा आइतबारको तुलनामा साढे ६ अंकले घटेर बजार रोकियो । कारोबार प्रवृत्ति, कारोबार रकममा आएको सुस्तता, मूल्य प्रतिस्पर्धा र नजिकिँदो पर्वको दबाबलाई थेग्दै झिनो अंकमा गिरावट कायम हुनु बजार केही बढ्ने संकेत हो ।
यो साताको बिहीबार घटस्थापना रहेकाले मंगलबार र बुधबार दुइदिन मात्रै सेयर कारोबार हुन्छ । उता असोज २६ देखि ३० गतेसम्म दसैं बिदा भएकाले २४ र २५ गते मात्रै कारोबार हुन्छ । दसैंअघि जम्मा ४ दिन सेयर किनबेच हुने, यसअघि नै दसैंका लागि खर्च जोहो गरिसकेको स्थिति, अब सेयर बिक्री गरेर आउने पैसा दसैंअघि ब्रोकरले ग्राहककाे खातामा हाल्ने सम्भावना कम रहेको र कतिपय खरिद गरेको सेयरको भुक्तानी पनि दसैंपछि मात्रै हुने भएकाले बजार सुधारिने सम्भावना देखाउँछ ।
सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् । आकर्षक लाभांशको प्रस्तावहरु भइरहेकाले कम मूल्यमै राम्रो प्रतिफल छिटो पाउने सम्भावना हुँदा पनि लगानीकर्ता थप आकर्षित हुने सम्भावना छ । यद्यपि, ४ र १२ करोडको कर्जा विवाद, सेयर ब्रोकर थप्ने प्रक्रियामा ढिलाइ, ब्रोकर कमिसन घटाउने प्रक्रिया अघि नबढ्नु, ब्याजदरवृद्धिको दबाब कायममै रहनु, वित्तीय क्षेत्रमा उच्च तरलता अभाव देखिनु जस्ता कारण भने कायमै छन् । वित्तीय संस्थाबाट ऋण लिएरभन्दा पनि आफूसँग भएको सम्पत्ति व्यवस्थापन गर्ने तहमा भने सेयर बजारले राम्रो बाटो समातेको छ ।
त्यसको सुरुवात सोमबारको कारोबारमा लघुवित्त संस्थाहरुको सेयर मूल्यमा आएको उछालले देखाउँछ । धेरै दिनपछि आशा लघुवित्तले सकारात्मक सर्किट लगाएको छ भने अन्य तीन लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी छ । उच्च मूल्य वृद्धि हुने २० कम्पनीहरुमध्ये १७ वटा लघुवित्त छन् । यसदिन सूचक घटे पनि ६९ कम्पनीका सेयर धनीहरुले कमाएका छन् भने १०९ कम्पनीका सेयर धनीले गुमाएका छन् ।
पछिल्लो समयमा निरन्तर कारोबार रकम घट्दै आएको छ । सोमबारको कारोबार झन कम भएको छ । सोमबार ७६ लाख ५३ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ७८ लाख रुपैयाँ बराबर मात्रै कारोबार भएको छ । याे अाैसतमा प्रतिघण्टा ९० कराेड रूपैयाँ दरले काराेबार भएकाे हाे । यसअघि उच्च काराेबार हुने बेला प्रतिघण्टा नै ५ अर्ब रूपैयाँभन्दा बढीकाे काराेबार हुने गरेकाे थियाे । यो रकम डेढ महिना अघिको २१ अर्ब हाराहारीबाट करिब ६ गुणा कम हो । गत बिहीबार ३ अर्ब ७० करोडको कारोबार भएको थियो भने आइतबार ४ अर्ब ११ करोड कारोबार भएको थियो ।
घट्दो बजारलाई जलविद्युत् समूहले समर्थन गरेको छ । २० उच्च मूल्य गिरावट हुने कम्पनीमा १४ वटा जलविद्युत् समूहका छन् । यद्यपि, सबैभन्दा बढी सेयर मूल्य घट्ने कम्पनीका रुपमा भने मनकामना स्मार्ट लघुवित्त ९ प्रतिशतभन्दा बढी छ । उच्च कारोबारमा युनाइटेड मोदी हाइड्रोपावरको १२ करोड १२ लाख रुपैयाँ छ ।