विराटनगर । केही बैंकहरुले ब्याज बढाएर व्यवसायीलाई विभिन्न बहानामा दुःख दिन थालेको भन्दै सरोकारवालाहरुलाई समस्याको समधान गरिदिन आग्रह गरेका छन् ।
विराट व्यापार संघले हाल बैंकहरुले कर्जामा बढाएको ब्याजदरको निर्णय फिर्ता लिन माग गरेको छ ।
संघले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर तथा अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र पेश गर्दै देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका उद्योगी, व्यवसायीलाई संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।
‘देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका उद्योगी, व्यवसायीहरुको संरक्षण गर्नु राज्यको दायित्व हुनुपर्नेमा हामी उद्योगी, व्यवसायीहरुले सो को अनुभूति गर्न सकिरहेका छैनौं,’ ज्ञापन पत्रमा उल्लेख छ, ‘तसर्थ हाल बैंकहरुले कर्जामा बढाएको ब्याजदर वृद्धि नगरी व्यापार सहजीकरण गर्न सहयोग गरिदिनुहुन जोडदार माग गर्दछौं ।’
व्यापार संघका अध्यक्ष सुजन थापासहितको टोलीले सोमबार नै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालमार्फत ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।
पत्रमा कोभिड–१९ को कारण धरासायी भएको अवस्थामा उद्योग व्यवसायलाई पुनरुत्थानका लागि राज्यले राहत प्रदान गर्नुको सट्टा बैंकहरुले व्याजदर वृद्धि गरी राहतको सट्टा थप आहात भई व्यवसायी नै बन्द गर्नुपर्ने अवस्थाको सिर्जना भएको उल्लेख छ ।
संघले राष्टबैंकका गवर्नरलाई राष्टबैंक विराटनगरका निर्देश सत्येन्द्र तिमिल्सिना मार्फत ज्ञापन पत्र बुझाएको हो ।