काठमाडौं । नेपालबाट बाहिरिएको नाइजेरियाको व्यावसायिक समूह डाङ्गोटेलाई पुनः नेपाल फर्काउने तयारी सुरु भएको छ । नेपालमा सिमेन्ट उद्योग लगाउन ५५ अर्ब रुपैयाँ बोकेर आएको डाङ्गोटलाई सरकारले खानी उपलब्ध नगराएपछि बाहिरिएको थियो ।
तर, अहिले अफ्रिकन सिमेन्ट उत्पादक समूह डाङ्गोटेलाई नेपाल बोलाउन लागिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले जानकारी दिए । प्रख्यात अफ्रिकन सिमेन्ट उत्पादक कम्पनी डंगोटेले सन् २०१३ मा सिमेन्ट उद्योगमा ५५ अर्ब रुपैयाँ लगानी भित्र्याउन स्वीकृति पाइसकेको थियो ।
तर, डंगोटे चुनढुंगा खानी नपाएपछि नेपाल छाडेको थियो । सोही व्यावसायिक समूहलाई नेपाल फिर्ता बोलाउन लागिएको सीईओ भट्टले जानकारी दिए ।
दैनिक ६ हजार टन सिमेन्ट उत्पादन लक्ष्य राखेर डंगोटेले विभिन्न शिर्षकमा १३ करोड रुपैयाँ नेपालमा खर्च गरिसकेको थियो । डाङ्गोटेले भने पछिल्लो पाँच वर्षदेखि चुनढुङ्गा खानीमै अल्झिरहेको थियो । डाङ्गोटे फर्किएपछि विश्वभरका लगानीकर्तामाझ नेपालप्रति नकरात्मक सन्देश गएपछि बोर्डले उसँग छलफल अघि बढाएको हो ।
२०१३ मा लगानी स्वीकृत भएको डाङ्गोटे ६ वर्षसम्म कुर्यो । तैपनि कुनै उपाय नलागेपछि नेपालबाट ५५ अर्ब रुपैयाँ बोकेर फर्किएको थियो । प्रमुख कार्यकारी अधिकृत भट्टका अनुसार डाङ्गोटेजस्ता कम्पनीलाई नेपालमा ल्याउन सके विश्वसामू नेपाल लगानीका लागि उपयुक्त मुलुक हो भन्ने सन्देश जाने बताए ।
बोर्डका अनुसार नेपालबाट फर्किएका अन्य लगानीकर्तालाई समेत नेपाल बोलाउन छलफल सुरु गरिएको छ । डाङ्गोटे नाइजेरियाको ठूलो व्यावसायिक समूह हो । त्यसबाहेक अन्य लगानीकर्ताहरु पनि नेपालबाट विभिन्न कारणले फर्किएका छन् । यस्तै भारतको रिलायन्सलाई समेत बोलाउन लागिएको बोर्डले जनाएको छ । अहिले उनीहरुसँग छलफल भइरहेको सीईओ भट्टले जानकारी दिए ।
यसैगरी चिनियाँ कम्पनी होङ्सी शिवम् सिमेन्टले दाङमा नयाँ उद्योग लगाउन लागेको छ । उसको एउटा कारखाना नवलपरासीमा छ । ‘अर्को कारखाना खोल्न थाल्नुको पछाडि यहाँ सम्भावना देखेरै हो,’ भट्टले भने, ‘नेपालमा आइसकेका लगानीकर्ता के कारणले फर्किएका हुन् ? उनीहरुको गुनासोलाई सम्बोधन गर्न सके उनीहरु पुनः नेपाल फर्किन सक्छन् ।’