काठमाडौं । निरन्तर घटिरहेको सेयर बजारमा सोमबार उछाल देखिएको छ । आइतबार साढे २७ अंकले बढेको बजार सोमबार ८७.६३ अंकले बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६७२.२५ अंकमा पुगेको छ । ब्याजदर बढ्न नदिन नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्ने नीति लिएपछि आइतबार नै बजारमा सकारात्मक प्रभाव परेको थियो ।
केही दिनदेखि सेयर धितोकर्जामा पुनरावलोकन हुने आशयका सन्देशहरु सक्रिय भएपछि त्यसको प्रभाव सोमबारको सेयर बजारमा परेको हो । राष्ट्र बैंकले भदौको सुरुवातमा सेयर धितो कर्जालाई एकल ग्राहकमा व्याख्या गर्दै प्रतिवित्तीय संस्था ४ करोड र समग्र प्रणालीबाट १२ करोड रुपैयाँसम्म ऋण लिन पाउने व्यवस्था गरेको थियो ।
केन्द्रीय बैंकको यो निर्देशन आउनुअघि भदौ २ गते हालसम्मकै उच्च विन्दु ३१९८.६ अंकमा नेप्पे पुगेको थियो । तर, सेयरधितो कर्जामा कडाइसँगै बजार निरन्तर खस्किन पुग्यो । यसबीचमा बजार घटाउन विभिन्न माहौलहरुले काम गरे ।
अर्थमन्त्री जनार्दन शर्माका कतिपय अभिव्यक्ति, विद्युत नियमन आयोगको सेयर किन्दा १६ बुँदे सार्वजनिक अपिल, लगानीकर्ताहरुको निरन्तर आन्दोलन, नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढुंगानामाथि सर्वोत्तम सिमेन्टमा गोल्डेन सेयर लिएको आरोप, बिमा समितिले हकप्रद सेयर दिन कडाइ गरेका आशयका सन्देश, ब्रोकरहरुले लगानीकर्ताहरुलाई कारोबार गर्न नमिल्ने गरी धितो शून्य बनाइदिएको चर्चा र बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको उच्च ब्याजदरले कात्तिक २ गते बजार घटेर २४८० अंकसम्म झरेको थियो ।
त्यसपछि कात्तिक २ गते राष्ट्र बैंकले बैंकहरुको बढेको ब्याजदरलाई निस्तेज पार्न एक परिपत्र जारी गर्यो र असोजको ब्याजमा १० प्रतिशतभन्दा बढी ब्याजदर बढाउन नपाउने व्यवस्था गर्यो । त्यतिमात्रै हैन संस्थागत निक्षेपको ब्याजदर व्यक्तिगत निक्षेपको भन्दा १ प्रतिशत विन्दु कम हुनुपर्ने र बढाएको ब्याजदर घटाएर ५ गतेभित्र दैनिक पत्रिकामा सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्यो ।
यसले ब्याजदर नबढ्ने भन्ने सकारात्मक सन्देश लगानीकर्तामा गयो । कात्तिक ३ गते सूचक ६० अंकले बढ्यो । तर, टिकाउ देखिएन र ४ गते बजार सूचक १४ अंकले ओरालो लाग्यो । त्यसपछि ब्रोकरले सेयर कारोबारका लागि बाटो खोल्दै सेयर किन्न दिएको लिमिट ४ गुणासम्म बढाएको भनेर सामाजिक सञ्जालमा व्यापक चर्चा पायो ।
उता गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर बढ्न नदिने प्रतिबद्धतासहितको सन्देश प्रवाहित गराए । यसले आइतबारको बजारमा सकारात्मक प्रभाव पार्यो । योसँगै लगानीकर्ताहरुले सेयरधितो कर्जामा केन्द्रीय बैंकले पुनरावलोकन गर्ने भनेर सन्देश प्रवाहित गरिरहेका छन् भने केही नाम चलेका लगानीकर्ताहरुले सेयर बजार अब उकालो लाग्ने भनेर सन्देश प्रवाहित गरिरहेका छन् । यस्तै संघीय संसदका लागि अर्लिइलेक्सनको चर्चाले पनि बजारमा सकारात्मक प्रभाव पारेको छ ।
सोमबारको नेप्से सूचक कारोबार प्यार्टन र लगानीकर्ताको मनोबलमा देखिएको सुधारले मंगलबार पनि बजार बढ्ने संभावना छ । तर, गत साता सेयर किनेकाहरुले कतिपय कम्पनीहरुमा आइतबार र सोमबार गरी १५ प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि गरेका कारण बिक्रीको पनि चाप बढ्न सक्छ । यसले बजारलाई केही प्रभावित बनाउने संभावना छ । मंगलबार बजार बढ्ने तर बुधबार र बिहीबार केही खस्किने अवस्था आउन सक्छ । यसमा लगानीकर्ता संयमित हुन जरुरी छ ।
जसको प्रभाव सोमबारको बजारमा देखिएको छ । सोमबार बजार सूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । १८३ कम्पनीको सेयर मूल्य बढेर कारोबार हुँदा ४ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसअघि सेयर कारोबार ३ अर्ब रुपैयाँ भन्दा तल खुम्चिएको थियो ।
मेरो माइक्रोफाइनान्स, सर्पोट माइक्रोफाइनान्स र युनिलिभरको सेयर मूल्य सामान्य घट्दा २० कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ । सोमबार थप १३ कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत भन्दा माथि बढेको छ । सोमबार महालक्ष्मी विकास बैंकको सबैभन्दा धेरै १६ करोड २५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यो पनि हेर्नुहोस
ब्रोकरले बिना जानकारी धितो हालेपछि सेयर बजार उचालियो, सतर्कता अपनाउने बेला