काठमाडाैं। वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। २० वाणिज्य बैंकमध्ये १० वटाले ब्याजदर घटाउँदा १० वटाले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर कात्तिक महिनाकै निरन्तरता दिएका छन्।
ब्याजदर घटाउने बैंकहरुमा एनआईसी एशिया, सिद्धार्थ, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सिटिजन्स, नबिल, नेपाल एसबिआई, सानिमा र कुमारी बैंक रहेका छन्।
मंसिर महिनाका लागि सबैभन्दा धेरै ०.७५ प्रतिशतविन्दुले ब्याजदर घटाउने बैंक एनआईसी एशिया रहेको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५.७५ प्रतिशतका दरले ब्याज दिने भएको छ। यस्तै, बैंकले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि घटाएको छ।
यसैगरी, व्यक्तिगत मुद्दती निक्षेपमा मंसिर महिनामा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंकले अधिकतम ६ प्रतिशतसम्म दिने भएको छ। सबैभन्दा कम ब्याज भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले अधिकतम ४.७ प्रतिशत दिनेछ।
कात्तिक महिनाको तुलनामा मंसिर महिनामा बैंकहरुको औसत ब्याजदरमा कमी आएको छ। व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर कात्तिकमा ५.२० प्रतिशतविन्दु रहेकोमा मंसिरमा ०.१६ प्रतिशत बिन्दुले घटेर ५.०४ प्रतिशत बिन्दुमा झरेको छ। त्यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि समीक्षा अवधिमा ०.०७ प्रतिशत बिन्दुले घटेको छ।