काठमाडौं । चौधरी ग्रुपको एफएमसीजी प्रोडक्ट सीजी फुड्सले विश्व प्रतिष्ठित स्पेनिस फुड ब्राण्ड गलिना ब्लान्का जीबी फुड्सको रसिया र कमनवेल्थ मुलुकको व्यवसायलाई अधिग्रहण गर्न मंगलबार सम्झौता गरेको छ ।
जीबी फुड्ससँग भएको उक्त अधिग्रहण सम्झौताबारे सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक वरुण चौधरीले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका थिए । तर, उक्त अधिग्रहण सम्झौताको रकम भने कम्पनीले खुलाएको छैन ।
‘रसियामा रहेको जीबी फुड्सको विजनेसले आफ्नो स्वामित्व जीबी फुड्सबाट सीजी फुड्समा परिवर्तन गरेको छ । जसमा सीजी कर्प ग्लोबलको स्वामित्व छ,’ वरुणले लेखेका छन् ।

उक्त अधिग्रहणले सीजी फुड्सलाई युरोप तथा कमनवेल्थ मुलुकहरुमा आफ्नो उपस्थिति जनाउन र खाद्य प्रोडक्टहरुलाई विविधिकरण गर्न मद्दत पुर्याउने सीजीको विश्वास छ ।
कम्पनीले जीबी फुड्सको रसिया तथा कमनवेल्थ मुलुकहरुमा विस्तार भएको बलियो सञ्जालको प्रयोग गरी आफ्नो ग्लोबल ब्राण्ड वाई वाईलाई पनि विस्तार गरेर लैजाने बताएको छ ।
हाल जीबी फूड्सको उपस्थिति पश्चिम यूरोप लगायत रसिया, कमनवेल्थका मुलुकहरु बाल्टिक्स लगायत अफ्रिकाका ३० मुलुकमा रहेको छ ।
उक्त समारोहबीच सीजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरीले वाईवाईलाई ग्लोबल ब्राण्ड बनाउने आफ्नै सदैव सपना रहेको र यसलाई सपनाबाट वास्तविकतामा परिणत भएको देखिरहँदा आफूलाई खुसी मिलेको बताए ।

१९३७ मा वार्सिलोनामा सुरु भएको गालिना ब्लान्का अर्थात् जीबी ब्राण्ड हाल युरोप र अफ्रिकाका ५० भन्दा धेरै मुलुकहरुमा विस्तार भइसकेको छ । विश्वभर जीबी फुड्सका ३ हजार कर्मचारी छन् । आजको समयमा जीबी फुड्सको १ अर्ब २० करोड युरोको वार्षिक कारोबार छ ।