काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र कोइलाको मूल्य बढ्दा पेट्रोकेमिकलको भाउ प्रतिटनमै ३ सयदेखि ४ सय डलरसम्म वृद्धि भएको छ । यो भनेको करिब ३० देखि ४० प्रतिशतको वृद्धि हो ।
दसैंअघिसम्म ११५० डलरमा पाइने पेट्रोकेमिकल्सको प्रतिटन मूल्य बढेर अहिले १४५० डलर पुगेको छ । पेट्रोकेमिकल्सको मूल्य वृद्धि हुँदा समग्र कच्चा पदार्थको मूल्य बढ्छ । नेपाल कच्चा पदार्थ आयात गरेर वस्तु उत्पादन गर्ने मुलुक हो । नेपालका ९० प्रतिशत उत्पादन विदेशबाट कच्चा पदार्थ ल्याएर तयारी वस्तु बनाइन्छ ।
त्यसैगरी, दसैंपछि कन्टेनरको मूल्य पनि बढेको छ । अब मूल्य वृद्धि के हुन्छ भनेर अनुमान गर्न सक्ने अवस्था नरहेको उद्योगीहरु बताउँछन् । उत्पादित वस्तु तथा सेवाको मूल्य निर्धारण गर्न उद्योगीलाई गम्भीर समस्या परेको नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समितिका सभापति भरत आचार्यले बताए ।
‘अहिले वर्किङ क्यापिटलको रिक्वायरमेन्ट पनि धेरै चाहिने अवस्था आएको छ । उद्योगको रेभिन्यू स्ल्यगिस हुने भयो । यो परिस्थितिबाट नेपालका उद्योग धन्दाको कच्चा पदार्थ मूल्य अत्यधिक बढेका कारणले बजारमा वस्तुहरुको मूल्य बढ्न सक्ने सम्भावना बढेको छ’ आचार्यले भने, ‘मूल्य बढ्दा पनि कम्पनीहरुको वर्किङ क्यापिटल बढछ । बैंकको ब्याजदर पनि सँगसँगै वृद्धि हुँदा उद्योगले पुनः रेभिन्यू जेनेरेट गर्न सक्ने अवस्था सिर्जना नहुने सम्भावना बढेको छ ।’
कोभिडबाट तङ्ग्रिएर भरखरै एक किसिमको डिमान्ड सिर्जना भइरहेको थियो । यही बेलामा फेरि अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ तथा पेट्रोकेमिकल्सको र ट्रान्जिट कार्गोहरुको अत्यधिक मूल्य वृद्धि भएको हुँदा आगामी दिनमा नेपालका उद्योगीलाई उद्योग सञ्चालन भए पनि प्रतिफल प्राप्त गर्न कठिन हुने उनको भनाइ छ ।
एकातिर विश्व बजारमा देखिएको मूल्य वृद्धिले नेपालको अर्थतन्त्रलाई नराम्ररी प्रभावित बनाइरहेका बेला नेपालमा केही दिनअघि आएको बेमौसमी बाढीले कृषिजन्य उत्पादन (खासगरी धान) नष्ट बनाउँदा चामल आयात बढ्न सक्ने अनुमान भइरहेको छ । यसका कारण पनि आयातमा चाप पर्न सक्ने देखिन्छ ।
त्यही भएर सरकारले विदेशी मुद्रा परिचालनका लागि तत्काल गर्नसक्ने सम्भावना भनेको रेमिट्यान्स भित्रिने मुलुकमा रोजगारीको सुनिश्चिततालाई अघि बढाउनुपर्ने देखिन्छ ।
तत्काल निर्यात बढाउन सकिने अवस्था छैन । रोजगार गन्तव्य कोभिडका कारण बन्द छन्, त्यस्ता मुलुक खुलाउनुपर्ने बाध्यात्मक अवस्था आएको छ । रोजगारदाता मुलुकले कामदार लैजान बन्द गरेका छन् । सरकारले त्यस्ता मुलुकमा कामदार पठाउन कुटनीतिक प्रयास गर्नुपर्छ ।
कामदार लैजान बन्द गरेका मुलुकमा खुलाउने हो भने त्यहाँबाट रेमिट्यान्स आउँछ र त्यसले व्यापार सन्तुलनमा परेको चापलाई कम गर्न सकिन्छ । विगत १५ वर्षदेखि नेपालको आम्दानीको प्रमुख स्रोत भनेको रेमिट्यान्स हो ।
यो बेला विदेशी मुद्रा झन आवश्यक पर्न थालेको छ । यस्तो बेला नेपाली कामदार रोजगारदाता मुलुकमा पठाउन सकेको अवस्थामा त्यहाँबाट आउने रेमिट्यान्स बढ्न सक्छ । त्यसले नेपालको अर्थतन्त्रलाई धरासायी हुनबाट जोगाउँछ ।
यो बेला वैदेशिक रोजगारीमा जानेको संख्या बढाउन सकियो भने अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भने अर्कोतिर खर्चयोग्य आम्दानी पनि बढ्छ ।