काठमाडौं । जथाभावी भन्सार मूल्यांकन गरेर व्यवसायीबाट अनुचित लाभ लिइरहेका भन्सार प्रमुख नारायणप्रसाद सापकोटाले केही व्यापारीलाई निसाना बनाउन थालेका छन् ।
गतल कार्यको विरोध गर्ने व्यापारीलाई उनले नियतवश दुःख दिन थालेका हुन् । सापकोटा भन्सार प्रमुख भएर गएदेखि नै साना तथा मझौला व्यापारीले आयात गरेको सामानलाई जथाभावी मूल्यांकन गर्ने र अनुचित लाभ लिने गरेको सूचना दिने व्यापारीमाथि उनी जाइलागेका छन् ।
एक व्यापारीका अनुसार अहिले भन्सार प्रमुख सापकोटाले छानीछानी व्यापारीलाई दुःख दिन थालेका छन् । सापकोटा अर्थमन्त्री जनार्दन शर्मानिकट निकट कर्मचारी हुन् ।
अर्थमन्त्री शर्मा उनको साथमा भएको फाइदा उठाउँदै सापकोटाले १ सय रुपैयाँमा ल्याएको सामानलाई २ सय रुपैयाँसम्म मूल्यांकन गर्ने र भन्सार तिराउने गरिरहेका छन् । तर, कतिपय आयातकर्ता व्यापारीले कर्मचारीसँग सेटिङ मिलाएर सामान वास्तविक मूल्यमै छुटाउने गरेका छन् ।
सेटिङ मिलाउन नचाहने व्यापारीलाई बढेको मूल्यांकनमै भन्सार तिर्न भनिएको छ । नियमविपरीत कार्य गरेको भन्दै कतिपय व्यापारीहरू अदालतसम्म पुगेका छन् ।
अर्थमन्त्री शर्माले भन्सार असुलीलाई तीव्रता दिन भन्सार प्रमुख र मातहतका निकायलाई भनेपछि सोही आज्ञाको पालना गर्दै सापकोटाले भन्सार बढी उठाउने नाममा व्यवसायीलाई अनावश्यक दुःख दिन थालेको बताइएको छ ।
‘अहिले सापकोटाको गलत कार्यबारे मिडियामा आएदेखि तपाईंहरू मिडियामा सूचना दिने भन्दै आक्रोशित भएका छन्’, एक आयातकर्ता व्यापारी भन्छन्, ‘उनले भनेअनुसार काम नगर्ने र सूचना बाहिर ल्याउनेलाई टार्गेट बनाएका छन् ।’
व्यवसायीमाथि खनिएका सापकोटालाई अर्थमन्त्री शर्माको साथ छ । त्यसैको बलमा उनले भन्सारमा बसेर व्यवसायीलाई दुःख दिइरहेका छन् । सापकोटाले भनेअनुसार काम नगर्ने व्यवसायीलाई दुःख दिने नियतबाट काम भइरहेको छ ।
यसअघि सापकोटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख हुुँदा ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन तस्करी भएको थियो । जसमा भन्सारका अधिकृतदेखि प्रहरीका एसएसपीसम्म कारबाहीमा परेका थिए ।
२०७३ पुस २१ मा दुबईबाट आएको उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थलबाहिर बरामद गरेको थियो ।
सो समयमा सापकोटा विमानस्थल भन्सार प्रमुख थिए ।
यी पनि हेर्नुहाेस्ः
अर्थमन्त्रीको इसारापछि भन्सार प्रमुख सापकोटाको ज्यादति, मनलाग्दी भन्सार मूल्यांकन गरी असुली
व्यवसायीलाई तर्साएर ‘अनुचित लाभ’ लिँदै भन्सार प्रमुख सापकोटा