काठमाडौं । विश्वकै अग्रणी बिमा कम्पनीमध्ये एक, मेटलाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदैछ ।
मेटलाइफले नेपालमा २०५८ साल मंसिरबाट नेपालमा सेवा सुरु गरेको हो । प्रारम्भिककालदेखि नै कम्पनीले थुप्रै बिमा सेवा तथा सुविधाहरूको सुरुवात, प्रतिभा विकासमा टेवा, तथा देशभर छरिएका धेरै मानिसहरूलाई लघुबिमामार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बिमा क्षेत्रको विकास र उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
नेपालका सम्पूर्ण व्यक्ति, परिवार र समुदायको थप आत्मविश्वासी भविष्य निर्माणका लागि मेटलाइफ सधैं प्रतिबद्ध रहेको कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले बताए । साथै उनले नेपालमा मेटलाइफको २०औं सफल वार्षिकोत्सव मनाइरहँदा आफ्नो जीवनको हिस्सा बनाउने कम्पनीका सम्पूर्ण ग्राहकहरू प्रति कृतज्ञता व्यक्त गरेका थिए ।
विगत २० वर्षमा मेटलाइफ नेपालले २५० करोडभन्दा बढीको दाबी भुक्तानी, रोजगार तथा तालिमका अवसरमार्फत ४० हजारभन्दा बढी पेसाको सिर्जना, २ हजार करोडको जीवन बिमा कोष तथा २७४ करोडको जगेडा कोषको स्थापना गरी वित्तीय स्थायित्व कायम गरिसकेको छ । हाल मेटलाइफले नेपालमा १४ लाखभन्दा बढी ग्राहकहरूलाई जीवन बिमा सुरक्षण प्रदान गरिरहेको छ ।
मेटलाइफले सधैं व्यापारमा मात्र नभई आफ्ना ग्राहक, समुदाय र समाज कल्याणमा सकारात्मक प्रभाव पार्नस्क्ने प्रयासहरू गर्दै आएको छ भने नेपालको बीमा क्षेत्रमा थुप्र्रै नवीनतम् कार्यहरू मार्फत आफ्नो नेतृत्वको स्थान पनि स्थापित गरेको छ ।
मेटलाइफ देशमा बीमा विशेषज्ञताको विकास गर्न २००२ मा कर्मचारी र एजेन्टहरूलाई अन्तर्राष्ट्रिय स्तरको जीवन बीमा प्रशिक्षण प्रदान गर्ने पहिलो बीमा कम्पनी हो । कम्पनीले २००३ मा पहिलो पटक शिक्षा सुरक्षा योजना सुरुवात गरी बच्चा र अभिभावक दुवैका लागि बीमा सुरक्षा प्रदान गरेर पहिलो बीमा कम्पनी बन्यो ।
यसैगरी २००९ मा कम्प्नी लघुबीमा लागू गर्ने पहिलो बीमा कम्पनी बन्नुका साथै २०१५ को भूकम्पको समयमा दाबी भुक्तानी गर्ने पहिलो र सबैभन्दा धेरै दाबी भुक्तानी गर्ने बीमा कम्पनी पनि बनेको थियो ।
कम्पनीले स्तन र पाठेघर क्यान्सरलगायत महिलाहरूलाई असर गर्ने प्रमुख गम्भीर रोगहरूमा सुरक्षा प्रत्याभूत गर्ने महिलाहरूका लागि विशेष सुरक्षा योजना ‘लाइफकेयर’ पनि सुरुवात गरेको थियो ।
साथै नवप्रवर्तनमा पनि उत्तिकै अगाडि मेटलाइफले ग्राहकहरूका लागि पहिलोपटक अनलाइन प्रीमियम भुक्तानी सुविधा प्रदान गरेको थियो । यस बाहेक मेटलाइफले आफ्ना ग्राहक र साझेदारहरूलाई समग्ररुपमा सहज प्रविधिमैत्री अनुभव प्रदान गर्नका लागि डिजिटल सेल्स प्लेटफर्म काइट, ग्राहक सेवाका लागि मोबाइल एप र दाबी जानकारीका लागि अनलाइल दाबी सूचना जस्ता पहलहरूको पनि विकास गरेको छ ।