जिल्ला हुलाक कार्यालयले चार महिनामा चौंतीस लाख बराबरको हुलाक टिकट बिक्री गरेको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म ३३ लाख ८३ हजार ८२० रुपैयाँको टिकट बिक्री गरेको हो ।
कुल ६ लाख ६० हजार ८५० टिकट बिक्री गर्दा उक्त राजस्व संकलन भएको कार्यालयका हुलाक अधिकृत मित्रलाल भट्टराइले जानकारी दिए ।
साउन महिनामा सात लाख ३९ हजार ७७५, भदौमा पाँच लाख ७६ हजार ४९५, असोजमा एघार लाख २४ हजार १७५ र कात्तिकमा नौ लाख ५३ हजार ३७५ राजस्व संकलन भएको हो ।
कार्यालयले अभिलेख राखेर संघसंस्था र व्यक्तिलाई कार्यालयबाट नै टिकट बिक्री गर्न थालेको उनले बताए । हुलाक टिकट राजस्व संकेत भएकाले निर्धारण गरिएको मूल्यभन्दा घटिबढीमा बिक्री गर्न मिल्दैन । भट्टराईका अनुसार टिकटमा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्न थालिएको पाइएकाले कार्यालयबाट व्यवस्थित तरिकाले टिकट बिक्री गर्न थालेको हो ।
विभिन्न संघसंस्था, बीमा कम्पनी, लेखापढी कानुन व्यवसायी, बैंकलगायतका कार्यालयले कार्यालयमै आएर टिकट लैजाने गरेको उनी बताउँछन् । केवल, टिभी, पत्रपत्रिका, एफएमलगायतका संञ्चारमाध्यमको दर्ता तथा नवीकरणको कार्य गर्दै आएको सो कार्यालयले पछिल्लो समय डाँक सेवालाई व्यवस्थित गर्न लागेको निमित्त हुलाक अधिकृत कुमारसिंह लामाले जानकारी दिए ।
सूचना र प्रविधि, स्रोतसाधान र जनचाहनाअनुरूप सेवा दिन स्रोतसाधान कमी भएका कारण ढिलाइ हुन गएकाले सेवामा छिटोछरितो ल्याउन पहल गरिएको उनको भनााइ छ । सत्र जिल्लाका लागि प्रदेश हुलाक कार्यालयले व्यवसायीसँग डाँकका लागि सम्झौता गरे पनि सम्झौताअनुरूपको कार्य नहुँदा सेवा प्रदानमा कठिनाइ भएको सो कार्यालयले जनाएको छ ।
पछिल्लो समय हप्तादेखि पन्ध्र दिनको अवधिमा आफ्नै डाँक सेवाबाट हुलाक कार्यालयमा पुगेर डाँक उठाउन थालिएको निमित्त हुलाक अधिकृत लामा बताउँछन् ।