काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले तरलता अभाव समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको नवउत्थान सम्मेलनमा अर्थमन्त्री शर्माले गहिरिँदो तरलता अभाव समाधान गर्न सरकार लागिपरेको बताए ।
कार्यक्रममा उनले पुँजीगत खर्च बढाउन नसकेको स्वीकार पनि गरे । मासिक रूपमा १० प्रतिशत पुँजीगत खर्च गर्ने उद्घोष गरेका शर्माले पुँजीगत खर्च गर्न आफ्नो केही नलागेको भन्दै निरीहता प्रकट गरे ।
सरकारले पुँजीगत खर्च यसअघिको सरकारको पालामा जति पनि नगरेकाे र साेही कारणा बजारमा तरलता अभाव भएको छ बताउँदै अर्थमन्त्री शर्माले तरलता अभाव अन्त्य गर्न सरकार र केन्द्रीय बैंक लागेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले लगानीयोग्य रकम नहुँदा त्यसले अर्थतन्त्रमा ठूलो असर पुर्याउने बताए । ‘अहिले बैंकहरू लगानी गर्न सक्ने अवस्थामा छैनन्,’ उनले भने, ‘कोभिडबाट भर्खरै तंग्रिन थालेको अर्थतन्त्रलाई तरलता अभावले थिच्यो ।’
कोभिडबाट पूर्णरूपमा प्रभावित बनेका क्षेत्र बिस्तारै माथि उठ्दै थिए । त्यही बेला बैंकमा लगानीयोग्य रकमको चरम अभाव भएको उनको भनाइ छ । लगानीयोग्य रकम अभाव हुन नदिन सरकार र केन्द्रीय बैंक गम्भीर बन्नुपर्ने गोल्छाको धारणा थियो ।
कार्यक्रममा अर्थमन्त्री शर्माले पुँजीगत खर्च कम भएकाले संकलित राजस्व थन्किएर बसेको उनले स्वीकारे । बजेट संसदबाट पारित गर्नै २/३ महिना लागेकाले समयमै खर्चको भुक्तानी हुन नसकेको उनको जिकिर थियो । निजी क्षेत्रलाई तरलता समस्या समाधान उनले आवश्यक सुझाव दिन पनि आग्रह गरे । सरकारलाई तरलता समस्या समाधान गर्न तपाइँहरुले दिने सुझाव हामी हेर्न चाहन्छौं । यो समस्या पुस/माघभित्रै समाधान हुने शर्माले बताए ।
त्यसैगरी, गैरआवासीय नेपालीहरूलाई नेपालमा डलर खातामा निक्षेप संकलनदेखि फिर्ता लैजान सकिने व्यवस्थालाई थप मार्केटिङ आवश्यक रहेको उनले बताए । यसले पनि देशमा पुँजी ल्याउन सहयोग पुग्ने उनको विश्वास छ ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत रूपमा लगानीकर्तालाई संरक्षण गर्नुपर्ने बताए । लगानीमैत्री कानुन निर्माण गर्नेबित्तिकै लगानी आफैं भित्रिन्छ’ ढकालले भने, ‘नेपालमा भाषणमा एउटा र व्यवहारमा अर्कै भएकाले लगानी बढ्न सकेको छैन ।’
ढकालले मलेसियाको उदाहरण प्रस्तुत गर्दै देशले आर्थिक विकासमा लिने नीति सही भए आर्थिक रूपमा देश सम्पन्न हुने बताए ।