काठमाडौं । लुम्बिनी प्रदेशको आर्थिक नगरीको रूपमा प्रस्ताव गरिएको बुटवलमा सुविधासम्पन्न कोलोनी निर्माण भइरहेको छ । रुपन्देहीको बुटवल तथा भैरहवामा आधुनिक सहरको रूपमा विकास भइरहेको बेला लुम्बिनी अष्टदिप मल्टिनेसनल प्रालिले रुपन्देहीको तिलोत्तमामा तिलाेत्तमा होम्स निर्माण गरी बिक्री सुरु गरेको छ ।

बुटवल भैरहवा सडकखण्डको भलबारी चोकदेखि १४ सय मिटर पूर्व करिब ६ बिघा क्षेत्रफलमा १ सय ९ वटा आधुनिक र सुविधासम्पन्न घरहरू निर्माण भइरहेको अध्यक्ष नेत्र वनले जानकारी दिए । बैंक तथा सरकारी कार्यालयका कर्मचारी, विदेशमा रहेका नागरिकलगायत समान आर्थिक अवस्था भएका र आधुनिक तथा सुरक्षित बस्तीको चाहना राख्नेलाई उपयुक्त हुने गरी बनाइएको उनको भनाइ छ ।
कोभिडकै बीचमा निर्माण सुरु गरेको सो परियोजनाले अवको २२/२३ महिनाभित्रमा सबै घर तयार गरी हस्तान्तरण गर्ने योजना रहेको अध्यक्ष वनले जानकारी दिए ।

रुपन्देही तिलोत्तमा ७ भलवारीमा ६ बिघा क्षेत्रफलमा निर्माण भइरहेको सो परियोजनाको हालसम्म ४५ प्रतिशत घरहरू बिक्री भइसकेको जनाएको छ । त्यहाँ सबा ५ आना (१० धुर) देखि ८ आना (१५ धुर) भित्र बनेका घरहरू छन् । ती घरको मूल्य ५ आनामा बनेको १ करोड ७५ लाख र ८ आनामा निर्माण भएको घरको भने २ करोड ५० लाख रुपैयाँ मूल्यमा बिक्री भइरहेको छ ।
हुन त बुटवल भैरहवामा क्षेत्रमा यस्तो खालका परियोजनाहरु तीनवटा सञ्चालनमा रहेको छ । तिलाेत्तमा होम्सको भने प्रदेश नम्बरमा पहिलो परियोजना हो । सुविधासम्पन्न घरको खोजीमा रहेकाहरूका लागि लक्षित गरेर निर्माण गरिएको अध्यक्ष वनको भनाइ छ ।
वनसहित ३ जनाको लगानीमा निर्माण भइरहेको सो परियोजना आकर्षक र सुविधासम्पन्न रहेको जनाएको छ । वन लामो समयदेखि त्यस क्षेत्रमा घरजग्गाको बिक्री वितरण गर्दै आएका व्यक्ति हुन् ।

यो परियोजना कम्पनीको पहिलो रहेकाले गुणस्तर र सरकारले तोकेको मापदण्डप्रति विशेष चनाखो रही भवन निर्माण गरिने प्रालिले जनाएको छ । त्यसभित्रको घर लिन चाहनेहरुलाई अधिकतम २५ वर्षसम्मको बैंक सुविधा उपलब्ध गराउने कम्पनीका सेल्स एन्ड मार्केटिङ प्रमुख सुदीप ढकालले जानकारी दिए ।
कोलोनीभित्र खेल मैदान, बालउद्यान, जिमखाना, स्वीमिङ पुल, कभर्ड हल, बास्केटबल कोर्ट, हेल्थ क्लब, रेष्टुराँ, सैलुन तथा मन्दिरसमेत रहेका छन् ।