ढाका । नेपालले कृषि एवं अन्य उपभोग्य वस्तुको सहज पहुँचका लागि बंगलादेशसँग आग्रह गरेको छ। नेपाल उद्योग परिसंघले नेपाली वस्तुलाई बंगलादेशी बजारमा सहज पहुँच स्थापित गर्न, गैरकर अवरोध हटाउन र राजस्वमा न्यून दर लगाउन बंगलादेशी उच्च अधिकारीहरू समक्ष आग्रह गरेको छ।
ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बंगलादेशको जनघनत्वअनुसार ठूलो मात्रामा उपभोग्य वस्तुको आवश्यक पर्ने भएकाले नेपालबाट त्यस्ता वस्तुको आयातमा सहजता एवं सुविधा दिन आग्रह गरे। उनले नेपालका कृषि उत्पादनहरूका लागि बंगलादेश राम्रो बजार भएकाले त्यस्ता वस्तुको विना अवरोध निर्यातको सुविधा दिन पनि बंगलादेशी अधिकारीहरूलाई आग्रह गरे।
कार्यक्रममा नेपालमा बंगलादेशी पर्यटक भित्र्याउने संभाव्य क्षेत्रहरूबारे पनि छलफल भएको छ। अध्यक्ष अग्रवालले नेपालले काठमाडौं बाहिरका दुई सहर पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाले ढाकाबाट सिधा उडान स्थापित गरी बंगलादेशी पर्यटकलाई सुन्दर सहरहरूको पहुँच विस्तार गर्न सकिनेमा जोड दिए।
कार्यक्रमममा बंगलादेशका वाणिज्य सचिव तपन कान्ति घोषले दुई देशबीचको सौविध्यपूर्ण व्यापार सम्झौता (प्रिफेरेन्सिएल ट्रेड एग्रिमेन्ट) टुंग्याउन आग्रह गरे। सम्झौताको मस्यौदामा प्रारम्भिक छलफल भएको छ,उनले भने,नेपालको तर्फबाट यसलाई अघि बढाउन तपाईंहरूले पनि पहल गर्नुस्।
परिसंघ डिसिसिआईबीच समझदारीपत्रमा हस्ताक्षर
नेपाल उद्योग परिसंघ र ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीज (डिसिसिआई) बीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र डिसिसिआईका अध्यक्ष रिजवान रहमानबीच हस्ताक्षर भएको हो।
समझदारीपत्रमा दुवै संगठनले एक अर्को देशमा लगानीको वातावरणबारे जानकारी दिने, दुई देशका आर्थिक क्रियाकलापका लागि सहजीकरण गर्ने र दुवै देशका लगानी एवं व्यापारसँग सम्बन्धित सूचना आदानप्रदान गर्ने उल्लेख छ।
समझदारीपत्रमा हस्ताक्षरसँगै भएको दुई देशका व्यवसायीहरूको छलफलमा बंगलादेशी उद्योगीले नेपालको जलविद्युत विकासमा चासो देखाएका छन्।
कार्यक्रममा डिसिसिआईका अध्यक्ष रहमानले नेपाल र बंगलादेश सार्क, बिम्स्टेकलगायतका साझा मञ्चमा सक्रिय रहेको र अब निजी क्षेत्रले पनि आर्थिक सम्बन्ध विस्तारमा जोड दिने बताए। उनले बंगलादेशले तीव्र आर्थिक विकासमा गरेको मेहनत नेपालका लागि पनि उदाहरणीय हुने बर्ताए। बंगलादेशले पछिल्लो ५ वर्षमा औषत ७ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धि गरिरहेको छ।
निजी क्षेत्रलाई विकासको नेतृत्व दिइनुपर्छ – सचिव मोमेन
बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनले निजी क्षेत्रमार्फत विकासको नेतृत्व गराउनुपर्ने बताए। परिसंघसँगको छलफलका क्रममा उनले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने विषयमा सरकारी संयन्त्र उदार हुनुपर्नेमा समेत जोड दिए
बंगलादेश सरकारले नीति निर्माण गर्दा सधैं निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकाले यहाँ तीव्र आर्थिक र औद्योगिक विकास संभव भएको उनको भनाइ छ। बंगलादेशमा २५ प्रतिशत सांसदहरू निजी क्षेत्रमा सक्रिय व्यवसायी छन्।
औद्योगीकरणमा उदाहरणीय – राई
नेपाली राजदूतावास ढाकाका चार्ज डि अफेयर्स कुमार राईले आर्थिक विकास र औद्योगीकरणमा बंगलादेशले गरेको प्रगति उदाहरणीय भएको बताए । राजदूतावासमा आयोजित रात्रिभोजमा उनले नेपालले तीव्र औद्योगीकरणमा बंगलादेशबाट पाठ सिक्न सक्ने बताए।
परिसंघ अध्यक्ष अग्रवाल नेतृत्वको टोलीले यसअघि बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदसँग भेट गरेको थियो। भेटमा नसरुलले नेपालका निजी क्षेत्रसँग सिधै विद्युत खरिद सम्झौता गर्न तयार रहेको बताएका थिए ।
बंगलादेशका मन्त्री एवं उच्च पदस्थ अधिकारीहरूसँगको भेट एवं औद्योगिक क्षेत्र भ्रमणमा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा एवं उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे तथा राष्ट्रिय परिषद सदस्य लक्ष्मीप्रसाद सुवेदी, द्विराज शर्मा, राष्ट्रिय परिषद सदस्य एवं परिसंघ प्रदेश नं १ का अध्यक्ष भीमप्रसाद घिमिरे, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, महानिर्देशक यादवप्रसाद पौडेल, निर्देशक सविन मिश्र र सूर्य पेन्ट्स् एन्ड इन्डस्ट्रिजका प्रमुख कार्यकारी अधिकृत अभिजित सुवेदीको उपस्थिति थियो।