काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन समितिले कार्यसमितिलाई मस्यौदा हस्तान्तरण गरेको छ । बिहीबार महासंघको कार्यालयमा विधान संशोधन समितिका संयोजक एवंम पूर्व अध्यक्ष कुशकुमार जोशीले मस्यौदा अध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण गरेका हुन् ।
संशोधित विधानमा अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुने, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष नरहने उल्लेख गरिएको छ । तर, हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई भने अहिलेको संशोधित विधानले अध्यक्ष बन्नबाट नरोक्नेसमेत उल्लेख गरेको छ । अर्को कार्यकालपछि भने अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट हुने र वरिष्ठ उपाध्यक्षसमेत नरहने व्यवस्था गरिएको समितिका सहसंयोजक एवंम पूर्व अध्यक्ष पशुपति मुरारकाले जानकारी दिए ।
दुई उपाध्यक्ष मध्ये १ जना महिला अनिवार्य र अर्को उपाध्यक्षलाई नै कोषको जिम्मेवारी दिने गरी विधान तयार गरिएको बताए । यस्तै दुई जना उपाध्यक्ष मध्ये महासंघमा गरेको योगदानको आधारमा वरिष्ठ छान्ने गरि अधिकार प्रत्यायोजन गरिएको समेत उनको भनाई छ ।
महासंघ भित्र कोषाध्यक्ष पदको महत्व कम भएको र सरकारी एवंम गैरसकारी संस्थाहरुमा पनि कोषाध्यक्षको कार्ड भिरेर जाँदा र उपाध्यक्षको काड भिरेर जाँदाको रेस्पोन्सनै फरक भएकोले यस्तो नीति अघि सारेको सहसंयोजक मुरारकाको भनाई छ । यसैगरी उपाध्यक्ष बन्नका लागि ६ वर्ष पदाधिकारी भएको हुनुपर्ने गरि विधानमा समावेश गरिएको उनले बताए ।
मस्यौदा हस्तान्तरण कार्यक्रममा बोल्दै संयोजक जोशीले आवश्यकताका आधारमा विधान परिमार्जन गर्दै लगिएको बताए । ‘अध्यक्ष ज्यूले कार्यसमिति मार्फत निर्णय गराएर विधान संशोधनका लागि हामीलाई जिम्मेवारी दिनुभएको थियो, संयोजक जोशीले भने, त्यहि अनुसार हामीले ११ महिना लगाएर मस्यौदा तयार पारेका छौं,यसलाई कसरी पारित गर्ने अध्यक्ष ज्यूको हातमा छ’ ।
सहसंयोजक मुरारकाले पनि विधान संशोधनमा कुनै स्वार्थ नराखी कार्यसमितिले दिएको जिम्मेवारी मात्र पुरा गरेको बताए । ‘यसमा हाम्रो कुनै इन्ट्रेष्ट छैन, सहसंयोजक मुरारकाले भने, अध्यक्ष ज्यूले दिनुभएको जिम्मेवारी मात्र पुरा गरेका हौं’ ।
महासंघका अध्यक्ष गोल्छाले संस्थालाई बलियो बनाउनका लागि विधान संशोधन गर्न लागिएको बताउदै अहिलेको मस्यौदा उत्कृष्ठ रहेको बताए । ‘कार्यसमितिको सहमति अनुसारनै विधान संशोधनको मस्यौदा तयार पारिएको हो, अध्यक्ष गोल्छाले भने,प्रक्रिया अनुसार पास गर्छु’ ।
महासंघको विधान संशोधन समितिले मस्यौदा बुझाए पनि केहि दिनअघिको पदाधिकारी बैठकमा अध्यक्षबाहेकका पदाधिकारीहरुले विधान संशोधनको विरोध गर्दै तत्काल अघि नबढाउने छलफल गरेका थिए । सो विषयमा आफुहरुको अडान कायम रहेको एक पदाधिकारीले क्यापिटल नेपाललाई बताए ।
यस विषयमा अध्यक्ष गोल्छाले पदाधिकारी बैंठकमा कुनै विवाद नभएको प्रष्टिकरणसमेत दिएका थिए । वरिष्ठ उपाध्यक्ष ढकालले मस्यौदा हस्तान्तरण कार्यक्रममा आउनेहरुलाई धन्यवाद ज्ञापन गर्दै संशोधित मस्यौदालाई पदाधिकारीको बैंठक हुँदै कार्यसमितिमा छलफलमा अगाडी बढ्छ होला भन्ने प्रतिक्रिया दिएका छन ।