काठमाडौं । बिग्रिँदो अर्थतन्त्र सम्हाल्न कुनै प्रयास नगरेका अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र खराब अवस्थामा नरहेको देखाउन नेपाल राष्ट्र बैंकलाई प्रयोग गरेका छन् ।
केन्द्रीय बैंकले केही दिन अघि देशको आर्थिक अवस्था झन बिग्रिँदै गएको तथ्यांक सार्वजनिक गरेपछि अर्थमन्त्री शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई अर्थतन्त्र खराब अवस्था नरहेको देखाउन दबाब दिएको खुलेको छ । त्यही भएर केन्द्रीय बैंकले बुधबार अर्थतन्त्र सही दिशामा रहेको देखाउन खोजेको छ ।
राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ २०४१, २०५८ सालामा पनि अर्थतन्त्र यस्तै अवस्थाबाट माथि उक्लिएकाले अहिले पनि सही दिशामा आउने बताए ।
२०४२ सालमा मुलुकको शोधनान्तर अवस्था बिग्रिएपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले रेस्क्यू गरेर अर्थतन्त्र बचाएको हो । २०५८ सालमा पनि शोधनान्तर नराम्री बिग्रिएको थियो । अहिले केन्द्रीय बैंकले ती खराब अवस्थाको उदाहरण दिएर अर्थतन्त्रमा कुनै संकट नआएको बताइरहेको छ ।
२०३९ देखि २०४१ सम्म तीन वर्ष लगातार शोधनान्तर घाटा भएकाले मुलुक संकटमा फसेको थियो । त्यसपछि २०५१–५३ को अवधिमा पनि लगातार दुई पटक शोधनान्तर घाटा भएको थियो । त्यतिबेला पनि मुलुक आर्थिक संकटमा फसेको भन्ने गरिन्थ्यो । यद्यपि नेपालसँग पर्याप्त विदेशी मुद्राको सञ्चिति थियो ।
अहिले विदेशी मुद्राको सञ्चिति पनि घट्दोक्रममा छ । केन्द्रीय बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको चार महिनाको तथ्यांक हेर्दा ७.३ महिनासम्म बस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था छ ।
खासगरी, अर्थतन्त्र सुधार्न अर्थमन्त्रीले कुनै प्रयास गरेको छैनन् । त्यही भएर उनको अहिले सर्वत्र आलोचना भइरहेको छ । अर्थतन्त्र जोगाउन भन्दा पनि नीतिगत भ्रष्टाचारमा अर्थमन्त्री शर्माको जोडबल बढी भएको भन्दै सत्तासीन दलमै कुरा उठ्न थालेको छ ।
अहिले अर्थतन्त्रको बाह्य क्षेत्र झन झन बिग्रिँदै गएको छ । रेमिट्यान्स पनि घट्दोक्रममा छ । पुँजीगत खर्चमा कुनै सुधार हुन सकेको छैन् । कर्जा विस्तार ठप्प छ । ‘यस्तो अवस्थामा केन्द्रीय बैंकले अर्थतन्त्र सही दिनमा गएको भनेर पत्रकार सम्मेलन गर्नुको पछाडि अर्थमन्त्री दबाब नै हो,’ अर्थ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘अर्थमन्त्री शर्माको दबाब झेल्न नसकेपछि गभर्नर अधिकारीले श्रेष्ठलाई कार्यपत्र प्रस्तुत गराएर अर्थतन्त्र बाहिर हल्ला भएजस्तो खराब नभएको बताएका हुन् ।
श्रेष्ठले २०७५ सालमा पनि लगानीयोग्य रकमको अभाव यही अवस्थामा पुगेको बताए । तर, बैंकरका अनुसार त्यो बेला सिष्टममा ५० अर्ब रुपैयाँ भन्दा बढी रकम हुँदा नै लगानीयोग्य रकम अभाव भएको भनिएको थियो । अहिलेको जस्तो अवस्था बैंकिङ सिष्टममा नआएको ती बैंकरले बताए ।
केही दिन अघि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाले नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा बैंकहरुले २०७१ सालपछि अहिले नै यति धेरे स्थायी तरलता सुविधा (एसएलएफ) लिएको बताएकी थिइन् ।
तर, यो पटक केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको ट्रेजरी बिल नै खरिद गरेर नगद नै बैंकमा पठाइरहेको छ । यसको अर्थ अहिले बैंकमा नगद नै अभावको अवस्था हो । बैंकमा नगद नै अभाव हुनु भनेको धेरै ठूला समस्या आएको बैंकरहरु बताउँछन् ।