काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ महासंघमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ ।
शनिबार राजधानीमा सम्पन्न महासंघको ७औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सुजिल श्रेष्ठको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमितिका चयन गरेको हो ।
महासंघको साधारणसभाले सुजिल श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल, प्रथम उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा युवराज पौडेल, तृतीय उपाध्यक्षमा गोकुल श्रेष्ठ, महासचिवमा ओमबहादुर बस्नेत, कोषाध्यक्षमा बद्रीप्रसाद हुमागार्इं र सचिवमा राजकुमार दाहाल र सहकोषाध्यक्षमा अप्सरा थापा निर्विरोध भएका हुन् ।
महासंघको साधारण सदस्यमा हरिकुमार शर्मा, अशोककुमार कुवँर, खगेन्द्र खरेल, प्रेमबहादुर थापा, ज्ञानबहादुर नेपाली, लोकनाथ रेग्मी, शिवप्रसाद पाण्डे र अनिश जोशी चयन भएका छन् । एसोसिएटतर्फको सदस्यमा अजयकुमार घिराइया र मनिष अग्रवाल चयन भएका छन् भने आजीवन सदस्यको तर्फबाट ओम प्रकाश लोहिया चयन भएको महासंघले जनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले फर्निचर तथा फर्निसिङ व्यवसायीका समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री यादवले केही वर्षभित्र काठ आयात गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न सरकार क्रियाशील रहेको उल्लेख गरे । उनले भने, ‘तीन वर्षमा बन पैदावारमा मुलुकलाई आत्मानिर्भर बनाउने र ५ वर्षपछि निर्यात गर्ने लक्ष्यका साथ काम अगाडि बढेको छ ।’
त्यस्तै महासंघका अध्यक्ष रामप्रसाद न्यौपानेले फर्निचर तथा फर्निसिङ व्यवसायमा प्रयोग हुने मुख्य कच्चा पदार्थ काठ सहज रूपमा उपलब्ध नहुँदा व्यवसाय र उद्योग विस्तारमा बाधा उत्पन्न भएको बताए । उनले यस व्यवसायमा दक्ष कामदारको अभाव, वार्षिक ७ अर्ब बढी रुपैयाँको काठ आयात गर्नुपर्ने बाध्यता, सरकारी कार्यालयहरुमा आयातित सामग्रीहलाई प्राथमिकता दिइने र सरकारी कार्यालयहरुले आह्वान गर्ने ठूला टेण्डरहरुमा यहाँका व्यवसायीहरुले प्रतिस्पर्धा गर्न नसक्ने प्राबधान राखेर टेण्डर आह्वान गर्ने लगायतका समस्या रहेको बताए ।
साथै उद्योगी व्यवसायीहरुलाई प्रत्क्षय रूपमा प्रभाव पार्ने गरी नेपाल राष्ट्र बैंकले जारी गरेको एलसी मार्जिनसम्बन्धी व्यवस्थामा काठका कच्चा पदार्थ एवम् तयारी फर्निचर आयात सम्बन्धमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरे ।
देशभर १२ हजारको संख्यामा फर्निचर व्यवसायी छन् । यो व्यवसायले २ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । फर्निचर व्यवसायमा करिब ३० अर्ब रुपैयाँको लगानी छ भने वार्षिक कारोबार ४० अर्ब रुपैयाँभन्दा माथि छ । जसमा कुल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको छ ।