तनहुँ । ऋषिङ गाउँपालिकाले यही पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रवक्ता विजय दरैले जानकारी दिए । गाउँपालिकाले खुला, महिला र स्थानीयका लागि म्याराथन गर्दैछ । म्याराथनका लागि विभिन्न ठाउँमा १६ वटा गेट निर्माण गरिनेछ र प्रत्येक गेटमा चेक प्वाइन्ट राखिनेछ । खुला म्याराथन ४२.२ किमि दूरीको हुनेछ । धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरीभञ्ज्याङ, गोठादी, ढुंगाडे, चालिसे, भीरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङकोट पुगेर टुंगिनेछ ।
स्थानीयतर्फ १० किमि दूरी दौड धारुङ भञ्ज्याङबाट सुरु भएर रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, केउराडी, ज्यामिरेमाई मन्दिरमा टुंगिनेछ भने महिलातर्फ चार किमि दूरी दौड धारुङबाट सुरु भएर रानीपोखरी, गोरखालीचौतारी, गैह्राथोक, दुर्गामन्दिर, कोटदरवार पुगेर टुंगिनेछ । खुलातर्फ प्रथम ६५ हजार, द्वितीय ४० हजार, तृतीय हुनेलाई २५ हजार रुपैयाँ र सान्त्वना हुने तीन जनालाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
यस्तै स्थानीयतर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय १० हजार, तृतीय ६ हजार र सान्त्वना हुनेलाई २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । महिलातर्फ प्रथम १० हजार, द्वितीय ८ हजार, तृतीय ५ हजार र सान्त्वना हुने एक जनालाई २ हजार पुरस्कार प्रदान गरिनेछ ।
सोही दिन ऋषिङ–३ मा निर्माण भएको अतिथि भवनको कांग्रेस नेता रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । रासस