काठमाडौं। जेनजी आन्दोलनको फाइदा उठाउँदै अराजक समूहले सरकारी कार्यालय, निजी सम्पत्ति तोडफोड र कारागारमा समेत आगलागी गरेर कैदीबन्दी भगाएको छ।
नेपाल प्रहरीका अनुसार अराजक समूहले रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारबाट छुटाएपछि देशैभरका कारागारमा आगलागी गर्दै करिब १४ हजार बढी कैदीबन्दीलाई भगाइएको छ। यीमध्ये शुक्रबारसम्म ३ हजार कैदीबन्दी पक्राउ परेका छन्।
कैदीमध्ये भागेपछि समाजमा सुरक्षाको चिन्ता र त्रास बढेको सर्वसाधारणले बताउन थालेका छन्। फरारमध्ये करिब ३ हजार कारागारको सम्पर्कमा आए पनि गम्भीर प्रकृतिका अपराधमा संलग्न अधिकांश कैदी फरार रहेका कारण समाजमा सुरक्षाको चिन्ता बढेको कारागार व्यवस्था विभागले जनाएको छ।
सुन्धारास्थित केन्द्रीय कारागार तोडफोड गरी पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत झन्डै ११ हजार कैदी फरार रहेको विभागका महानिर्देशक लीला शर्माले जनाए।
शर्माले सुरक्षाको अवस्थाका कारण केही कैदी कारागारबाहिर निस्कने अवस्था भए पनि फैसला गर्ने निकाय (अदालत) को आदेशबिना कारागारबाहिर बस्न नमिल्ने भएकाले सबै कैदीबन्दीलाई तत्काल सम्बन्धित कारागारमा फर्किन आग्रह गरिएको बताए।
विभागले फरार रहेका सबै कैदीलाई तत्काल पक्राउ गरी कारागारमा फर्काउन, सबै सुरक्षा निकाय, सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको छ ।
शान्तिपूर्ण प्रदर्शन हिंसात्मक भएपछि सुरक्षाको कारण देखाउँदै भदौ २३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने कारागारबाट बाहिरिएको सूचनापछि अन्य कैदीले जेल तोडफोड गरी भाग्ने क्रम सुरु भएको थियो।
प्रहरी प्रधान कार्यालयले हत्या, लुटपाट, आगजनी, तोडफोडलगायत अपराधमा संलग्न व्यक्तिका सूचना भए उपलब्ध गराउन सार्वजनिक अपिल गरेको छ। नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी तथा सम्बन्धित कारागार कार्यालयले पनि तोडफोड र आगजनी गरेर कारागार/बन्दीगृहबाट भागेका कैदीबन्दीलाई फिर्ता हुन आग्रह गरसकेका छन्।
प्रहरीले कारागारबाट भागेका, संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति भवन, व्यक्तिका निजी भवन, उद्योग, व्यवसायमा गरिएको लुटपाटलगायतका प्रमाण वा भिडियो पठाइदिन सर्वसाधारणलाई अपिल गरेको छ।