काठमाडौं । अर्थतन्त्रका सम्पूर्ण सुचकहरु नकारात्मक बन्दै गएपछि अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रको साथ खोजेका छन् । अर्थमन्त्री शर्माले ३ वटै संगठनसँग छलफल गर्न लागेका छन ।
बुधबार अपराहन्न ३ बजे नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग अर्थतन्त्रको पछिल्लो अवस्था बारे छलफल गर्न लागेका हुन ।
बढ्दो व्यापार घाटाले शोधान्तरस्थिति तथा विदेशी विनिमय सञ्चितिमा परेको चाप, तरलता अभाव र ब्याजदर वृद्धि, घट्दो रेमिट्यान्स, आयातमा गरिएको कडाईले राजस्वमा पार्ने प्रभाव, आन्तरिक उत्पादन बढाउन सरकारले गर्नुपर्ने नीतिगत सुधार लगायतका विषयमा सुझाव माग गरेको बताइएको छ ।
निजी क्षेत्रका प्रतिनिधिहरुले रेमिट्यान्सलाई औपचारिक माध्यममार्फत भित्र्याउन सरकारले गर्न सक्ने नीतिगत प्रयास, बाह्य क्षेत्रमा पारेको असर कम गर्न आयातमा कडाइ, यसबाट राजस्वमा पर्ने प्रभाव र संभावित लगानीका क्षेत्र लगायतका विषयमा निजी क्षेत्रले कार्यपत्र प्रस्तुत गर्न लागेको बताइएको छ ।
प्रतितपत्र (एलसी) खोल्दा केही वस्तुको शतप्रतिशत र केहीको ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण आयात कम हुन थालेका छ । यसले आयात कम हुनुका साथै सरकारको राजस्व समेत घट्ने देखिएको छ ।
राजस्वमा आउने कमी कसरी घटाउदै आत्मानिर्भर अर्थतन्त्र कसरी बनाउन सकिन्छ भन्ने विषय नीजि क्षेत्रले सुझाव दिन लागेको बुझिएको छ ।
बढ्दो आयातका कारण चालू आर्थिक वर्षको ५ महिनामा शोधनान्तरस्थिति १ खर्ब ९५ अर्ब रुपैयाँ घाटामा गएको छ । यसैगरी आयात ५९.५ प्रतिशतले र निर्यात १०५.६ प्रतिशतले बढेको छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ६.८ प्रतिशत र अमेरिकी डलरमा ७.३ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोड रुपैयाँ घाटामा छ ।
कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ३ करोड अमेरिकी डलरमा झरेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म ४५.९१ प्रतिशत राजस्व संकलन र पुँजीगत खर्च १३.४४ प्रतिशत भएको छ ।