काठमाडौं । भारतीय रुपैयाँ (भारु) को ओसारपसार सीमा बढाउन सरकारले भारतसँग कूटनीतिक छलफल अघि बढाउने भएको छ । हाल कायम भएको २५ हजार भारुको सीमालाई बढाउन सरकारले भारतसँग कूटनीतिक तवरबाट छलफल गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।
भारत सरकारको आग्रहमा २२ वर्षअघि नेपालले २५ हजार भन्दा बढी भारु ओसारपसार गर्न नपाइने व्यवस्था लागू गरेको थियो । त्यो बेला भारतको प्रस्तावअनुसार नेपालले निर्णय गरेर कार्यान्वयनमा ल्याएको थियो ।
त्यसलाई पुनरावलोकन गर्न सरकारले कूटनीतिक प्रयास थाल्ने राज्यमन्त्री श्रेष्ठले बताए । ‘अहिलको अवस्थामा २५ हजार भारुको सीमा एकदमै कम भएकै हो । त्यो सबैले महसुस गरेका छन् । भारतीय पक्ष पनि बढाउन सहमत नै हुन्छ’, उनले क्यापिटल नेपालसँग भने, ‘भारतसँग वार्ता गरेर सीमा बढाउनुपर्छ ।’
२२ वर्षअघिको मूल्यवृद्धि र अहिलेको मूल्यवृद्धिबीच कुनै तुलना हुँदैन । त्यो बेला २५ हजार भारुमा धेरै वस्तु खरिद गर्न पाइन्थ्यो । अहिले २५ हजार भारुले होटलमा एक रात बस्न समेत धौधौ हुन्छ । त्यही भएर अहिलेको सीमालाई बढाएर ३ लाख पुर्याउन भारत सरकारलाई आग्रह गर्ने नेपाली पक्षको तयारी छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१६ डिसेम्बरमा नोटबन्दी गरेपछि झन्डै ८ करोड भारु साटिएको छैन । भारत पनि बिनाकारण आफ्नो मुद्रा चलायमान बनाउन इच्छुक देखिएको छैन ।
एकातिर नेपालले डलर बेचेर भारु किनिरहेको अवस्था छ । सरकारले गत आर्थिक वर्षमा मात्रै ४ अर्ब ५४ करोड डलर बेचेरे ३ खर्ब ३४ अर्ब भारतीय रुपैयाँ किनेको नेपाल राष्ट्र बैंकको तथ्यांकबाट देखिएको छ ।
त्यसैगरी, चालू आर्थिक वर्षको ५ महिनामा सरकारले १ अर्ब ८२ करोड डलर बेचेर १ खर्ब ३५ अर्ब ५६ करोड भारु किनेको अवस्था छ । सरकारले डलर बेचेर ठूलो परिमाणमा भारु किन्नु परिरहेको छ ।
भारु बोक्ने सीमा बढेको खण्डमा सीधै ढुकुटीबाट पैसा नगएर जनस्तरबाटै जाने हुँदा औपचारिक च्यानलबाट आएको देखिँदैन । यसले भारुको अनौपचारिक कारोबारलाई बढावा दिँदा अनौपचारिक अर्थतन्त्रमा थप दबाब पर्छ । हाल अनौपचारिक अर्थतन्त्र हिस्सा ४० प्रतिशत हाराहारीमा भएको अनुमान छ ।
नेपालबाट क्रमशः भारततिर लगानी जाने संभावना हुन्छ । केन्द्रीय बैंकका अनुसार अगस्टमा सरकारले डलर बेचेर ३१ अर्ब भारु किनेको थियो । सेप्टेम्बरमा ११ अर्ब भारु किनेको देखिएको छ । अक्टोबरमा २६, नोभेम्बरमा ३१, डिसेम्बरमा ३४ अर्ब भारु किनेको हो ।
नेपालको ६५ प्रतिशत व्यापार भारतसँग छ । त्यहाँबाट सामान ल्याउन नेपाली व्यापारीले भारुमै भुक्तानी गर्नुपर्छ । त्यही भएर पनि नेपालले कूटनीतिक प्रयास गरेर हाल कायम भएको सीमालाई न्यूनतम ३ लाख पुर्याउनुपर्ने उद्योगी शशिकान्त अग्रवाल बताउँछन् ।
उद्योगी/व्यवसायीले बारम्बार २५ हजारको सीमालाई बढाउन सरकारसँग माग गरिरहेका छन् । अहिलेको अवस्थामा उक्त सीमा सान्दर्भिक नभएको उनीहरूको तर्क छ । नेपालबाट लैजाने सीमालाई पनि अहिलेको तुलनामा केही बढाउनुपर्ने तथा उताबाट ल्याउने सीमालाई घटीमा पनि ३ लाख भारु पुर्याउनुपर्ने उनीहरूको सुझाव छ ।