काठमाडौं। बाराही ग्रुपको ड्रिम प्रोजेक्टको रुपमा रहेको पाँचतारे होटल ‘बाराही सेदी’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ। २०७५ सालबाट निर्माण सुरु भएर २०८२ भित्र सञ्चालनमा ल्याउने तयारीका साथ पोखराको सेदीमा बनिरहेको होटलको सिभिल संरचनाको काम सम्पन्न भएको हो।
बाराही ग्रुपका एक उच्च अधिकारीका अनुसार आगामी चार महिना अर्थात २०२६ को अन्तिम र २०२७ को सुरुवातमा सञ्चालनमा आउने छ। ‘अहिले होटलको सिभिल संरचनाको काम सकाएर इन्टेरियलको काम पनि अन्तिम चरणमा पुगिसकेको छ,’ ती अधिकारीले भने, ‘सफ्ट ओपनिङको मिति तय भएको छैन। तर, अबको ४ देखि ५ महिनाभित्रमा पहिलो चरणको कोठाहरू सञ्चालनमा आइसक्छ।’
करिब ६ अर्ब लगानीमा निर्माण भइरहेको सो होटललाई बाराही ग्रुपले आफ्नो ड्रिम प्रोजेक्टको रुपमा हेरेको छ। पोखराबाटै सन् १९७९ मा प्याराडाइज गेस्ट हाउसबाट व्यावसायिक यात्रा सुरु गरेको बाराही ग्रुपले आक्रामक रुपमा आफूलाई विस्तार गर्दै लगेको छ। स्थापनाको चार दशक टेकिसक्दा गेस्ट हाउसबाट बाराही ग्रुपको रुपमा विस्तार भएर अहिले पाँचतारे लक्जरी होटल निर्माण गरी सञ्चालन तयारीमा पुगेको हो।
६३ रोपनीमा फैलिएको होटलमा चार वटा ब्लक हुनेछन्। चार ब्लकमध्ये पहिलो, दोस्रो र तेस्रोमा गरी कुल १५० वटा कोठा हुने छन्। पहिलो ब्लक ६ तलाको हुनेछ। जसमा ६० वटा कोठा हुनेछन्। सात तलाको दोस्रो र १० तलाको तेस्रो ब्लक दुवैमा गरी ९० वटा कोठा हुने छन्।

होटलमा रहेका कोठामध्ये १४० वटा डिलक्स र सेमी डिलक्स हुनेछन्। बाँकी १० वटालाई स्विट र जुनियर स्विट बनाइने जनाएको छ। १० तले तेस्रो ब्लकमा सबभन्दा माथि हेलिप्याड हुनेछ। यसका लागि पाँच रोपनी जग्गा छुट्याइएको छ। प्राइभेट हेलिकप्टर लिएर पनि बाराही सेदी जान सकिन्छ।
यस्तै, होटलमा ११ वटा सर्भिस हाउस हुनेछन्। छुट्टाछुट्टै यी भवन लामो समय बस्न आउने पर्यटकका लागि हो। लामो समय बस्ने पर्यटकले होटलमै घरको जस्तो सहजता खोज्ने भएकाले यो सुविधा थपेको बताउँछन्, ती अधिकारी।
चार वटा बेडरूमसहितको घर लामो अवधि बस्ने पाहुँना, विमान चालक दलका सदस्यलगायतलाई लक्षित गरिएको जनाएको छ। ९ तलाको चौथो ब्लकमा भने क्यासिनो सञ्चालन हुनेछ।

यहाँ एक रात बस्न कोठा र सुविधा हेरेर कम्तीमा १८ हजारदेखि एक लाख ८० हजार रूपैयाँसम्म लाग्ने छ। यद्यपि, होटल पूर्ण सञ्चालनमा आएपछि मात्र कोठाको मूल्य कति हुन्छ भन्ने निर्धारण हुने जनाएको छ।
होटलमा बाराही ग्रुपको ५१ प्रतिशत सेयर स्वामित्व रहने छ। बाँकी ४९ प्रतिशत सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) जारी गर्ने तयारी छ। बाराहीले अहिले पोखरासहित चितवनमा बाराही लज र काठमाडौंमा काठमाडौं बाराही होटल सञ्चालन गरिरहेको छ।