काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् उत्पादनमा भएको वृद्धि, आर्थिक एवं सामाजिक क्रियाकलापमा भएको सुधार, निर्यातमा भएको बढोत्तरी र उच्च कर्जा प्रवाह तथा आयातमा भएको वृद्धिले आर्थिक वृद्धिदर गत वर्षको भन्दा माथि हुने अनुमान रहेको बताएका छन् ।
उनले यस अवधिमा मुद्रा स्फिति करिब ७.११ प्रतिशतको हाराहारीमा रहेको र करिब ६.८ महिनाको वस्तु तथा सेवाको आयात धान्नका लागि विदेशी मुद्राको सञ्चिति रहेको बताए ।
प्रधानमन्त्री देउवाले आज अपरा राष्ट्रका नाममा सम्बोधन गर्दै यस अवधिको पछिल्लो तीन महिनामा अर्थतन्त्रका बाह्य क्षेत्रमा केही दबाब पर्न गएता पनि सरकारले लिएका वित्त र मौद्रिक नीतिको कार्यान्वयनबाट सुधार गरिने उल्लेख गरे ।
उनले भने, “बजेट कार्यान्वयनको सन्दर्भमा संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रमको आधारमा बजेटलाई पुनरावलोकन गरी प्रतिस्थापन विनियोजन विधेयक समयमै स्वीकृति गरी कार्यान्वयनमा ल्याइएको छ ।” चालु आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा पुस मसान्तसम्म ५ खर्ब ७६ अर्ब २४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
सङ्घ सरकारको सार्वजनिक खर्चतर्फ १६ खर्ब ३२ अर्ब ८२ करोड वार्षिक बजेटमध्ये पुस मसान्तसम्म ५ खर्ब छ अर्ब ७८ करोड रुपैयाँ खर्च भएको छ ।
तीव्र आर्थिक विस्तारका लागि आवश्यक उच्च लगानी योग्य पूँजीको अभाव हुन दिइएको छैन । उच्च कर्जाको माग र विस्तार हुँदा पनि उपयुक्त उपायको अवलम्बन गरी साधारण ब्याजदरलाई वाञ्छित सीमाभित्र नै राखिएको छ । पुनःकर्जातर्फ १क खर्ब छ अर्ब ७ करोड र सहुलियतपूर्ण कर्जामा ५५ अर्ब सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गरिएको छ ।
सङ्घीय संसद् भवन निर्माण कार्य सन्तोषजनक ढङ्गले अघि बढेको, भैरहवा विमानस्थल र पोखरा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बता । काठमाएडौँ उपत्यकाको फोहरमैला व्यवस्थापनका लागि नुवाकोटको बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइटको प्रथम खण्डको निर्माण सम्पन्न भई फोहर विसर्जनको लागि योग्य भएको छ ।