विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको ६ महिनामा कुल ४ अर्ब १६ करोड ६७ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले ४ अर्ब ३८ करोड ७३ लाख ८७ हजार रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यमा २२ करोड छ लाख २२ हजार राजस्व कम सङ्कलन भएको हो ।
गएको आवमा सो अवधिमा ३ अर्ब ८८ करोड ९७ लाख ३४ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको थियो । सो अवधिमा कार्यालयले ३ अर्ब ९१ करोड ५२ लाख ८८ हजार रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्याललये लक्ष्यभन्दा २ करोड ५५ लाख ५४ हजार रूपैयाँले कम राजस्व सङ्कलन गरेको थियो ।
कार्यालय गएको वर्षको सो अवधिमा सङ्कलन गरेको राजस्वभन्दा २७ करोड ७० लाख ३० हजार रूपैयाँ राजस्व बढी सङ्कलन गर्न सफल भएको कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले जानकारी दिए । सो अवधिमा गएको वर्षभन्दा ७ प्रतिशत बढी राजस्व सङ्कलन भएको उनले बताए।
कार्यालयले सङ्कलित गरेको राजस्वमा आयकर १ अर्ब ७० करोड ४ लाख ८६ हजार रूपैयाँ , बहाल कर ५० करोड २५ लाख ८ हजार रूपैयाँ, ब्याजकर ५ करोड ९८ लाख ५० हजार रूपैयाँ, मूल्य अभिवृद्धिकर १ अर्ब ५ करोड ६२ लाख १९ हजार रूपैयाँ, अन्तःशुल्क १ अर्ब २९ करोड ९५ लाख ७५ हजार रूपैयाँ, स्वास्थ्य सेवा ३० हजार र शिक्षा सेवा शुल्क तीन लाख ४६ हजार रूपैयाँ छन् ।
सङ्कलित राजस्वमा करदाता सेवा कार्यालय विराट चोकबाट १८ करोड १ लाख ४४ हजार रूपैयाँ, करदाता सेवा कार्यालय पथरीबाट १० करोड ६० लाख ७७ हजार रूपैयाँ र आन्तरिक राजस्व कार्यालय विराटनगरले ३ अर्ब ८८ करोड ५ लाख ४३ हजार रूपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ । रासस