काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले बिहिबार पदभार सम्हालेका छन् । २०६४ सालमा नागरिक उड्डयन प्राधिकरणमा आठौँ तहमा प्रवेश गरेका उनी खुला प्रतिस्पर्धामा निर्देशक बनेका थिए।
११ औं तहका अधिकारीले चार वर्षका लागि महानिर्देशक पदमा नियुक्त भएसँगै उनले पदभार ग्रहण गरेका हुन् । आफुभन्दा १ तह माथि(१२ औं) तहका ६ जना उपमहानिर्देशकहरुलाई पछाडी पार्दै महानिर्देशक बनेका अधिकारीले अबको कार्यकाल कसरी अगाडी बढाउलान भन्ने चासो बढेको छ ।
प्राधिकरणकै इतिहासमा पहिलो पटक ११ औं तहका कर्मचारीहरुलाई महानिर्देशक बनाएपछि संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विवादमा परेका छन् । हुन, उनले नियुक्ती गरेका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी पनि विवादित छवि भएका व्यक्ति हुन् ।
त्यो बेला पनि मन्त्री आलेको चर्को विरोध भएको थियो । अहिले फेरि कनिष्ठलाई महानिर्देशक बनाएपछि प्राधिकरण भित्र तिव्र असन्तुष्टी देखिएको छ ।
बिहिबार भएको पदभार ग्रहणमा भने उपमहानिर्देशकहरुले महानिर्देशकलाई पूर्ण रुपमा सहयोग गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । आफुहरु भन्दा १ तह नै जुनियर कर्मचारीलाई प्रमुख बनाएपछि भित्रभित्रै छटपटाहटमा परेका उपमहानिर्देशकहरु पनि सरकारले गरेको निर्णय प्रति निरिह देखिएका छन् ।
‘सरकारले गरेको निर्णयलाई मानेर अघि बढ्नुको विकल्प नभएपछि पदभार ग्रहण कार्यक्रममा मिलेर सहयोग गर्ने प्रतिबद्धता जनाएका हौं,एक उपमहानिर्देशकले क्यापिटललाई भने, कि छोडेर जानुपर्यो,हैन भने खटाएको काम गर्नुनै पर्छ ’।
इन्जिनियरिङ विभागबाट महानिर्देशक बनेका अधिकारीलाई उड्डयन क्षेत्रमा काम गर्न भने चुनौति देखिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनदेखि विभिन्न निकायहरुसँगको समन्वयमा काम गर्नुपर्ने भएकोले यस विषयमा महानिर्देशक अधिकारीले हाल भएका उपमहानिर्देशकहरुलाई मिलाएर लैजानु पर्ने चुनौति देखिएको छ ।
अहिले प्राधिकरण भित्र अधिकारीको नियुक्तिपछि धेरै कर्मचारीहरु विधिलाई मिचिएको भन्दै विरोध जनाउन थालेका छन् भने केहिले युवा नेतृत्व आएको भन्दै खुशी व्यक्त गर्न थालेका छन् । तीन वटा राष्ट्रिय गौरबका आयोजनाहरु (अन्तर्राष्ट्रिय विमानस्थलहरु) सञ्चालनमा ल्याउनेदेखि आन्तरिक विमानस्थलहरुलाई सञ्चालन गर्ने जिम्मेवारीसमेत अधिकारीको काँधमा आएको छ ।
त्यति मात्र नभई नेपालका लागि सबैभन्दा बढी चुनौति रहेको युरोपियन युनियन (ईयु)को कालो सूचीबाट नेपाललाई हटाउनु रहेको छ । त्यसका लागि इयुले गर्ने अडिटमा राम्रो प्रस्तुतिदेखि सुधारका कामहरु गर्दै जानुपर्ने देखिन्छ ।
महानिर्देशक अधिकारी प्राविधिक फिल्डको भएकोले उनलाई हवाइ उड्डयन सम्बन्धी राम्रो ज्ञान नभएको आरोपसमेत लाग्ने गरेको छ । यदपी,उनले अब आफ्नो कार्यकालयमा सल्हाह सुझाव दिने समूह कस्तो बनाउछन् भन्नेमा भरपर्ने बताउछन् । योसँगै प्राधिकरणलाई आफु अनुकुल चलाउन खोज्ने हवाई कम्पनीहरुबीच कसरी प्रस्तुत हुन्छन् भन्ने पनि धेरैले चासो देखाउन थालेका छन् ।